Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

 लाहुरेहरु रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन्



parijat

 मैले केही गम्भीर भए भनें “मायालु हुनेलाई मायालुको र स्वास्नीको धेरै सम्झना आउँछ रे । अमेरिकन र गोरा सिपाहीहरु तकिया अँगालेर सुत्छन् रे । हाम्रो लाहुरेहरु रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन् । झोलामा प्रेमलहरी सबैसँग हुन्छ । अकबर–वीरबल, तोता–मैना र कोकशास्त्रको किताब सर्कुलर गरेर पढ्छन्, भन्नुहोस् त युद्धले मानिसलाई कतिसम्म बोका बनाउँदो रहेछ ! गोरा सिपाहीहरु त स्वास्नीमान्छेको छायासम्म देख्न हुँदैन, त्यसै मातिन्छन् । तर मेरी मायालु थिइन ।” मैले जोडसँग आफ्नो गिलास अँठ्याएँ, सिलावरको भए कुच्इिसक्थ्यो तर काँचले आफ्नो धर्म छोडेन ।

जीन खुकुलो रमको पेगसँग साटासाट भएको हाम्रो परिचय र हाम्रो घनिष्टतासाथै मैले उसलाई शिवराजजी नाउँले बोलाउन थालिसकेको थिएँ । शिवराज उसको नाउँ । बाजेको पालादेखि आमापट्टिबाट बिग्रँदै आएको ऊ क्षेत्री र गुरुङसेनीको ठिम्बर छोरो थियो । ऊ मभन्दा उमेरले कान्छो, अनुभवले कान्छो, हाम्रो सन्तुलन खाली पुगेका भराई र रित्याइमा मात्र मिलेको थियो । उ म जति नै पिउन सक्थ्यो । मेरो कुरा ऊ धेरै चाख लिएर सुन्थ्यो । मप्रति ऊ सँधै उत्सुक रहन्थ्यो । मप्रति धेरै माया गरेजस्तो देखाउँथ्यो र यसो भनूँ मप्रति उसको फर्साइलो र सत्य हुनुमा कुनै शङ्का थिएन । तर मैले आफ्नो विषयमा उसलाई सम्पूर्ण केही बिचाएको थिइँन र मेरो चाहिने उसप्रति सत्य हुनुमा धेरै ठूलो प्रश्नचिह्न उठ्छ । सत्य र सोझो छैनँ, यद्यपि उसले जानेको थियो, म एउटा चालीस उँभोको बूढो कुमार, भूतपूर्व सैनिक, दोस्रो विश्वयुद्धको एउटा चोट, घर पहाडमा र यहाँ इच्छा लागे अस्थायी जागिर खानु र लगत्तै फेरि ढाक्रेगिरीमा रमाउनु मेरो जीवनको नियमबद्धता ।

म पैंतालिस टुङ्ग्याउन आँटेको बूढो, तर यो पनि उसलाई थाहा थिएन, कारण म आफ्नो उमेरभन्दा अलिक तन्देरी नै देखिन्छु । एकपलट बारमा कतिसम्म मैले उसलाई भनेको हुा भने केही त आफ्नै रहर, केही त बाबु–आमाको करले र केही लडाकू जातिको रगतको उम्लाइले म पल्टनमा भर्ना भएको थिएँ र पछि एक प्रकारको छालाको रोग अर्थात् स्क्याबिसको शिकार हुनुपरेकोले पेन्सन खाने हिसाबले लडाइँबाट छुट्कार पाएको थिएँ । मेरो अझसम्म विवाह भएको छैन । यसो भन्दा मैले आफ्नो अनुहार बिगारेको थिएँ तर रक्सीको आवेगमा उसले थाहा पाएन । यति थियो मेरो तर्फबाट उसले थाहा पाउन सकेको मेरो परिचय, प्रायजसो हामी आफ्नो विषयमा भन्दा अरुको विषयमा धेरै गफ गथ्यौं ।

उसले आफ्नो घरमा निम्त्याएपछि हामी घनिष्टताको एउटा पर्दा छिचोलेर निकै नजिक आयौं । यसैको आधारमा मैले धेरै उसको घर–विषयमा अड्कल काटिसकेको थिएँ । उसले बताएका सामग्रीहरुले नपुगेर पनि म उसको विषयमा धेरै बढाई–चढाई सोच्थेँ, कारण यो एउटा मेरो धेरै छोटो बानी छ । त्यो रात मलाई निकै तातिएर बोल्न मन लाग्यो । धेरै गफ सिद्धिएपछि उसले मलाई सोध्यो “ यहाँ त लडाइँमा खप्पिस भएर आउनुभएको मान्छे, यहाँ यसै घुमिरहँदा पनि अल्छि लाग्दो हो ?”मैले आफ्नो गिलास स्वाट्टै पारेर भनें “ विशेष पल्टनमा मेरो जीवनमा कुनै खास रेकर्ड छैन । सुबेदारसम्म भएको हुँ त्यो पनि भाग्यले घचेटेर, आफ्नू अफिसको काम अलिक छरितो हुन्थ्यो र मात्र । मान्छे एउटा पनि मारेको छैनँ ।” फेरि पनि मेरो अनुहार बेस्कन बिग्रियो र फेरि पनि उसले याद गरेन । म भन्दै गएँ “ लडाइँ त गरेको हुँ तर मान्छे मार्ने मौका पाइन ।

जापानीहरुसँग हाताहात हुँदा हाम्रो बटालियनबाट एक जनाले भिक्टोरिया क्रस पाएको थियो र खुट्टाहात हराएर कतिले ग्यालेन्ट्री थापेका थिए तर मेरो भागयमा त्यो थिएन । मेरो शरीरमा विश्वयुद्धको छाप छैन । त्यो छालाको रोग त एउटी जङ्गली केटी …!” मैले कुरालाई फनक्कै घुमाएर भनें “ डेथ भ्यालीबाट भागेर आउादा भोग्नु भोगेको हुँ दुःख पनि, कहिले त लेख्न मन लाग्छतर लेख्न आउँदैन । जीवनलाई दुःखित भोग्नु मात्र जीवनको सार्थकता होइन शिवराजजी ! सब सारहीन छन् । अहिले जो जीवन बाँचिरहेको छु त्यो मेरो भोगाइको प्रतिक्रिया होइन, हो त ? भोग्दाभोग्दै जीवन सिद्धिन्छ ।” म हाँसें र फेरि भन्न थालें “ केही हराए केही पाउनलाई मैले लडिनँ, पाउनलाई केही पाइनँ तर हराएको त अवशय हो । मैले जानेर हराएको होइन आफैं हरायो, मेरो के लाग्छ ? जम्मामा रित्तिएको छु । सुन्नुभो, मलाई जीवनसँग किन अल्छि लाग्दैन भने, म यहाँ बाँकी जीवन आफ्नो ढङ्गले जसरी बित्छ त्यसरी बिताउन आएको, म रित्तिएर आएको ।” क्रमशः मेरो अनुहार बिग्रँदै गयो, यो बिग्रनुमा उप्रान्त मेरो केही नियन्त्रण चलेन, मैले सक्दो बिग्रन दिएँ र भन्दै गएँ “ अब मलाई जीवनदेखि भाग्न पर्दैन ।” बीचैमा उसले कुरा काटेर सोध्यो “ भागि त रहनुभएको छ नि बोतलमा, गिलासमा ।”

“यो भगाइ होइन” मैले भनें “ लडाइँमा जहिले पनि रम खान पाइन्छ र यो मेरो छुट्न नसक्ने लत मात्र हो । तपाईँहरु भन्नुहुन्छ लडाइँमा खुब रमाइलो गर्न पाइन्छ । रमाइलोको साधन त उहाँ झ्याउरे गीत र रम मात्र हो अरु केही छैन । अँ, ठूलाठूला अफिसरहरु भने खूब मोज गर्छन् । रात–रातभर क्यान्टिनमा रक्सी खाए, नाचे । बिचरा सिपाहीहरुको कसले बुझिदेओस । विशेष हाम्रा सिपाहीहरु, बाबुबाजेको नाममा खुकुरी चलाउनु छ,उफ्रिनु छ । घरको सम्झना नआइदिए त हुने , त्यसो पनि हुँदैन । मलाई युद्धको विषयमा बोल्न मन लाग्दैन शिवराजजी । युद्ध भनेको हामी आफूजस्तै मानिसहरु आफसमा काटाकाट गर्नु त हो नि, बढी के हो र !”

मैले भनें “ सत्ते, मैले काटेको छैनँ । काटे होलान्, अरुले सायद, काट्नै परेर होला कतिले बलमे मारिसकेका दुश्मनका टाउकामा पनि काट्दै हिंडे । कति रुखपात काट्दै हिंडे,लेखाजोखा किन गरिरहने, विशेषत ः यो लडाइँको गफ नै गरिरहने सित्तैं ! ”

उसले झन् उत्सुक भएर सोध्यो “ तपाईँ विशेष सधैं यस्तो गफ चल्यो कि मलाई पन्छाउन खोज्नुहुन्छ किन ? भन्नुहोस् न हामीलाई सुन्न कस्तो इच्छा लाग्छ ।”

बोतलमा बाँकी रहेको रक्सी दुवैलाई बराबरभाग लगाएपछि मैले भनें “भनिहालें नि, मेरो कुनै खास इतिहास बाँधिएको छैन लडाइँसँग, साधारण बिताएर आएको छु । लडाइँमा जानुअघि आफैंलाई एउटामेसिनमा परिणत गर्नुपर्छ, कसैको माया गर्नु हुँदैन, त्यत्ति भए पुग्छ ।” उसले गिलास रित्याउँदै हाँसेर भन्यो “त्यो त मलाई पनि थाहा छ, मलाई त्यत्ति केटाकेटी नसम्झनुस् न ।”

“सिपाहीहरुले भनेका” मैले केही गम्भीर भए भनें “मायालु हुनेलाई मायालुको र स्वास्नीको धेरै सम्झना आउँछ रे । अमेरिकन र गोरा सिपाहीहरु तकिया अँगालेर सुत्छन् रे । हाम्रो लाहुरेहरु रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन् । झोलामा प्रेमलहरी सबैसँग हुन्छ । अकबर–वीरबल, तोता–मैना र कोकशास्त्रको किताब सर्कुलर गरेर पढ्छन्, भन्नुहोस् त युद्धले मानिसलाई कतिसम्म बोका बनाउँदो रहेछ ! गोरा सिपाहीहरु त स्वास्नीमान्छेको छायासम्म देख्न हुँदैन, त्यसै मातिन्छन् । तर मेरी मायालु थिइन ।” मैले जोडसँग आफ्नो गिलास अँठ्याएँ, सिलावरको भए कुच्इिसक्थ्यो तर काँचले आफ्नो धर्म छोडेन ।

उसले चित्त नबुझाएर भन्यो “यो त लडाइँको साधारण कुरा, सिपाहीहरुको साधारण मनोवृत्ति । चाहनुभयो भने त तपाईँको आफ्नो युद्धदर्शन भन्न सक्नुहुन्छ, दुश्मनहरुसँग जम्काभेट भएका गफहरु हाँक्न सक्नुहुन्छ ।”

मलाई लाज लाग्यो आफ्नो कुराले स्तर नपाएकोमा । तै लाज पचाउँदै भनें “तपाईँ साधारण तर कुरा त प्रमुख नै हो । एउटा सिपाहीबाट तपाईँ कस्तो गफको आशा राख्नुहुन्छ शिवराजजी ! सिपाही जहिले पनि उत्ताउलो हुन्छ, अब खाने काम गरौं ।”

मैले पन्छाउँदैछु, यो उसले राम्रैसँग बुझ्यो । हामी भान्छाघरतिर गयौं । भात खाइसकेर आउँदासम्म हाम्रो केही खास कुरा भएन । चुरुट तान्दातान्दै उसले घडी हेरेर तर्सँदै भन्यो “लौ बित्यो, अब जानुपर्छ, बरी सुतेकी हुन्न, थाहा पाई कि ठाडै कराउँदै आउँछे, बिताउँछे ।”

“मुजुरा नि ?” नभनौ भन्दाभन्दै मेरो मुखबाट अकस्मात् फुस्क्यो । अप्ठ्यारो लागेर म एकछिन् घोप्टिएँ ।

उसले स्वभाविक स्वरमा भन्यो “ऊ त सुतिसक्छे । बरी मध्यरातितिर मात्र सुत्छे । विशेष मुजुरामा अरुको विरोध गर्ने स्वभाव छैन । मैले रक्सी खाएकोमा उसलाई गुनासो छैन । बरी मान्दिन, रिसाउँछे । फेरि मलाई त्यसैको बढी माया लाग्छ ।” किन ? एउटा प्रश्नचिह्न मेरो आँखाअघि देखाप¥यो, लगत्तै हरायो । मुजुरामा विरोध छैन, मलाई रमाइलो लाग्यो । उसलाई मैले रोक्न सकिनँ । ढोकासम्म पु¥याएर फर्कें । रक्स्याहाहरु भेटघाट भएको कोठा, जथाभाबी भइरहेको थियो । वास्ता नगरी म खाटतिर जाँदै थिएँ, ठीक शिवराज बसेको कुर्सीमुनी एउटा कागजको टुक्रा खसेको रहेछ । जिज्ञासावश उठाएर हेरें । त्यो एउटा तस्वीर थियो, उल्टो फर्केर खसेको, छर्लङ्ग अक्षरमा लेखिएको थियो ‘सकमबरी’ । साँच्चै रक्स्याहाहरु यस्तै हुन्छन् कहाँ के खस्यो पत्तो पाउँदैनन् । शिवराजले यहीं झारेर गएछ क्यारे । अरुको घरमा अथवा बारमा छुटेको भए कत्रो गाइजात्रा हुन्थ्यो, धन्न मकहाँ छुट्यो । तस्बीर पल्टाएर हेर्ने आँट मैले गरिनँ । नहेरे पनि हुन्छ, देखेकै हो सकमबरी, मैले हिफाजतसँग आफ्नो कोटको खल्तीमा राखें, भोलि गएर बुझाउनु थियो ।

दश बजेर नाघिसकेको थियो । म झ्यालमा बसेर शिवराजसँग भएका कुराहरु दोहो¥याएर सम्झिन थालें । मेरो अरु काम थिएन र केलाउनुपर्ने कुनै समस्या पनि थिएन । रित्तो मान्छे, तकियामा टाउको राख्यो कि बिहान नहुन्ज्यालसम्म बोल्नै पर्दैन । सोच्नलाई पनि मसँग कुनै सामग्रीहरु रहँदैनथ्यो । एक किसिमले सलल बगेको सजिलो मेरो जीवन छुट्कारा पाइसकेको छ ।

प्रसिद्ध नेपाली साहित्कार ‘पारिजात’को शिरीषको फुलबाट लिइएको केही अंश


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको