१ मङ्सिर, भोजपुर। जिल्ला अदालत भोजपुरले हालसम्म तीन लाख ८१ हजार ३२५ जरिवाना असुल गरेको बताएको छ ।
कुल रु चार करोड ६९ लाख ३१ हजार १७२ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा रु चार करोड ६५ लाख ४९ हजार ८४८ बाँकी रहेको अदालतले जनाएको छ ।
अदालतले यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म दुनियावादी देवानी प्रकृतिको ४९ मुद्दाको लगत रहेकोमा १० फछ्र्योट भइसकेको र ३९ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी, दुनियावादी फौजदारी प्रकृतिका ३५ मुद्दा लगतमा रहेकोमा १३ वटा फछ्र्योट भइसकेको र २२ वटा बाँकी रहेको, सरकारवादी फौजदारी प्रकृतिका ३८ वटाको लगत रहेकोमा १५ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेको छ ।
हालसम्म १२ वटा थुनुवा मुद्दा बाँकी रहेको जनाइएको छ । त्यसैगरी, बालबालिका पक्षका दुई मुद्दा फछ्र्योट भएको र महिला पक्षको २८ लगत रहेकोमा १२ फछ्र्योट भई १६ बाँकी रहेको कार्यालयले जनाएको छ ।
यता मेलमिलापसम्बन्धी लगत आठ रहेकोमा तीनवटा फछ्र्योट भइसकेको र पाँचवटा बाँकी रहेको जनाएको छ । त्यसैगरी, पाँच लगत रहेको फैसला कार्यान्वयनतर्फको निवेदनमा एकवटा फछ्र्योट भई चारवटा बाँकी रहेको हो ।
कार्यालयले कैद जरिवानातर्फ एक हजार ४१ वर्ष १० महिना १८ दिनको लगत रहेकोमा छ हजार २०३ वर्ष दुई महिनाको फछ्र्योट भइसकेको जनाएको छ । कार्यालयले १५६ कैद माग लागेका, १३९ जरिवाना माग लागेका साथै जरिवाना र कैद दुवै लागेका ७८ सहित ३७३ व्यक्तिबाट कैद जरिवाना असुल गरेको छ ।
यसैबीच, जिल्ला अदालतले अभिलेखमा रहेका सबै मिसिललाई सफ्टवेयरमा राख्न थालेको छ । रासस

