३ मङ्सिर,पोखरा। राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदाताको घोषणा गरेको छ ।
बढी कर बुझाउने करदातामध्ये जिल्लागत रुपमा उत्कृष्ट करदाता घोषणा गरिएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले जानकारी दिनुभयो । उत्कृष्ट करदातामा कास्कीमा ‘टाईगर माउन्टेन प्रालि, तनहुँमा गण्डकी ट्रेड सप्लायर्स, स्याङ्जामा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र बागलुङमा जयकालिका भगवती निर्माण सेवा प्रालि रहेका छन् ।
त्यस्तै मुस्ताङमा अमित विल्डर, लमजुङमा कृषक जागरण बचत तथा ऋण सहकारी संस्था, गोरखामा मनास्लु विकास बैंक, पर्वतमा नमुना आवासीय मावि र म्याग्दीमा कुमारी बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट करदाता घोषणा गरिएको छ ।
कर प्रशासन, कर सचेतना तथा सहभागितामा सहयोग पु¥याउने संस्थाबाट लेखनाथ उद्योग वाणिज्य सङ्घ र पर्वत उद्योग वाणिज्य सङ्घ तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका नायब सुब्बा रवीन्द्र विक रहनुभएको छ ।
आन्तरिक राजस्व कार्यालयअन्तर्गत हाल एक लाख ९ हजार करदाता रहेका छन् । तीमध्ये ६८ हजार ५०० व्यावसायिक र बाँकी रोजगारी करदाता भएको कर अधिकृत सुनिलराज देवकोटाले बताउनुभयो । रासस

