Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

वर्षाको कहर, बरुवानदीको बहाव बढ्दा बजार जोखिममा



२७ असार, गाईघाट । निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउछन् । विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए । स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउछन् ।

नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।

नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगर बताउँछन् ।

बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय सिरहा लहानलाई समेत खबर गरेर जेसिभी उपलब्ध गराउन पटक–पटक अनुरोध गरे पनि सडक कार्यालयले सुनुवाइ नगरेको र अहिले कटारी नगरपालिकाबाट एक जेसिभी झिकाएर भदौरेखोला खण्डमा अवरुद्ध सडक खुलाउने कार्यमा प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।

उदयपुरको कटारी–१४ स्थित सिद्धिचरण लोकमार्ग खण्डको बेतिनी र घुर्मीको बीचमा भदौरेखोलाको कारण र नयाँ सडक निर्माण गर्ने क्रममा थुपारिएका वस्तु बगेर सडकमा थुप्रिएका कारण सडक अबरुद्ध भएपछि खोटाङ, ओखलढुङ्गाबाट कटारी आउने र कटारीबाट खोटाङ तथा ओखलढुङ्गा जाने यातायातका साधन बीच बाटोमै रहेका छन् । प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ