१२ साउन, काठमाडौँ । युवा बौद्ध समूह, काठमाडौंको शनिबार सम्पन्न वार्षिक साधारण सभाले मदन बहादुर तुलाधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा र्निमला कंसाकार र राजु शाक्य रहेका छन् भने सचिवमा रजनी ताम्राकार, कोषाध्यक्षमा कल्पना देवी तुलाधर र सहसचिवमा नानीशोभा मानन्धर रहेका छन् । त्यसैगरी, सात सदस्यमा युरिकाजी कंसाकार, ठूलो राजा शाक्य, अकिलशोभा ताम्राकार, विजयरत्न तुलाधर, रत्ना शाक्य, राजा शाक्य र धर्मशील शाक्य चुनिएका छन् ।
साधारण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं समूहका सल्लाहकार डा केशवमान शाक्यले विगतमा धर्मनिरपेक्षताको मुद्दा अघि सारेर जनजातिहरुमाझ बुद्ध धर्म फैलाउने अभियानमा समूहले उदाहरणीय काम गर्न सकेको स्मरण गराए। आउँदा दिन पनि उत्पीडित र पिछडिएका वर्गलाई संगठित बनाएर समावेशिताको मुद्दामा काम गर्न उनले समूहलाई सुझाव दिए ।
विसं २०३९ सालमा स्थापित यो समूहले पञ्चशील अभियान र आदिवासी जनजातिहरुका लागि बौद्ध जागरण शिविर सञ्चालन गरी बुद्ध धर्म र दर्शनलाई जनस्तरसम्म फैलाउने काम गर्दैआएको छ । (रासस)
वि.सं.२०७६ साउन १२ आइतवार १६:०८ मा प्रकाशित






























