काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।– ५ बाट प्रतिनिधि सभा उम्मेदवार बालेन्द्र शाह (बालेन)नेपालका एक चर्चित र्यापर हुन् । करिब तीन वर्ष अघि सक्रिय राजनीतिमा आएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदका लागि अगाडी सारिएका उम्मेदवार हुन् । एकाथरिले उनलाई जनताले रुचाएका एक निडर अनि शाहासी नेताका रूपमा पनि हेर्ने गरेका छन् ।
पुर्ख्यौली थलो महोत्तरी भए पनि साहको जन्म काठमाडौँको नरदेवीमा भएको हो । उनी मैथिली समुदायका हुन् । उनका पिता स्वर्गीय राम नारायण साहको नरदेवी आयुर्वेदिक अस्पतालमा सरुवा भएपछि साह परिवार काठमाडौँमै बसोबास गर्न थालेका थिए ।
उनले आफ्नो उच्च शिक्षा तीनकुनेमा अवस्थित भि।एस। निकेतन स्कुलबाट पूरा गरेका थिए । त्यसपछि उनले हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक अध्ययन गरे । इन्जिनियरिङ शिक्षालाई निरन्तरता दिन उनी भारतको कर्नाटकस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयमा गएर स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका थिए ।
संगीतिक यात्रा
सन १९९० मा जन्मिएका साहले निकै कम उमेरमै संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । उनले सन २०१० मा आफ्नो पहिलो गीत “सडक बालक” सार्वजनिक गर्दै संगीतिक यात्रा सुरु गरेका हुन् । यो गीतमार्फत उनले सडकमा जीवन बिताउन बाध्य बालबालिकाको पीडा र यथार्थलाई प्रस्तुत गरेका थिए ।
बालेनका गीतहरू प्रायः देश प्रेमी, सामाजिक चेतना, सहरी समस्या, भ्रष्टाचार र राजनीतिक विसङ्गति जस्ता विषयमा केन्द्रित रहेका छन् । उनले विशेष गरी युवालाई लक्षित गरी गीत लेख्ने र गाउने गर्छन् । र्याप गीतमार्फत समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनु नै उनको सङ्गीतको मुख्य विशेषता हो ।
त्यसै गरी, उनी ¥याप ब्याटलमार्फत पनि चर्चामा आएका छन् र नेपाली हिप–हप क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल भएका पात्र हुन् ।
साहको मेयर यात्रा
साहले सन् २०२२ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका थिए । उनले स्थापित राजनीतिक पार्टीका उम्मेदवारलाई पराजित गर्दै महानगरको प्रमुख पद जितेका थिए ।
उक्त चुनावमा उनले निकटतम प्रतिस्पर्धिलाइ फराकिलो मतान्तरले पराजित गरेका थिए । स्थापित दल नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गरेका साहले मेयर यात्रामा पनि साङ्गीतिक यात्राको झैँ लोकप्रियता कमाए । भलै कतिपय कुराहरूमा काठमाडौँका मतदाताहरू नै उनको कार्यशैली प्रति रुष्ट छन् । अर्कोतर्फ बालेनको नयाँ सोचप्रति धेरै युवाहरूले समर्थन पनि गरेका छन् ।
मेयर पदमा हुँदा साहले के के काम गरे ?
काठमाडौँ महानगरपालिकाको मेयर हुँदा साहले विभिन्न सुधारमुखी अभियान र कडा निर्णय गरेका कारण चर्चामा रहे । २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि उनले महानगरभित्र सुशासन, सरसफाइ, अतिक्रमण नियन्त्रण र डिजिटल प्रणाली प्रवर्द्धनमा जोड दिए, जसका कारण युवाहरूमाझ उनको लोक प्रियता झनै बढ्यो ।
फुटपाथ अतिक्रमण हटाउने, जथाभाबी पार्किङ नियन्त्रण गर्ने तथा नक्सा पास नगरी बनाइएका संरचनामाथि कारबाही गर्ने अभियान उनले आफ्नै प्रत्यक्ष नेतृत्वमा सञ्चालन गरेका थिए । सरकारी जग्गा मिचेर बनाइएका घर टहरा हटाउने र सार्वजनिक स्थल व्यवस्थापनमा देखाइएको सक्रियता उनले गरेको उदाहरणीय कामको रूपमा लिइन्छ ।
फुटपाथ अतिक्रमण हटाउने, जथाभाबी पार्किङ नियन्त्रण गर्ने तथा नक्सा पास नगरी बनाइएका संरचनामाथि कारबाही गर्ने अभियान उनले आफ्नै प्रत्यक्ष नेतृत्वमा सञ्चालन गरेका
विद्यालयहरूमा अतिरिक्त क्रियाकलापको रूपमा “बुक फ्री फ्राइडे” कार्यक्रम सञ्चालन ल्याउने, कानुनतः निजी विद्यालयहरूले दिनुपर्ने दश प्रतिशत छात्रवृत्तिको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जस्ता कामहरू उनका लोक प्रिय कामहरू हुन् ।
उनकै नेतृत्वमा काठमाडौँमा सम्पदाहरूको संरक्षण तथा पुनः निर्माण सुरु गराएका थिए त्यसलाई पनि एउटा महत्त्वपूर्ण कामको रूपमा लिइन्छ ।
उनको कार्यकालमा महानगरले डिजिटल गभर्नेन्स प्रणाली लागू गर्ने, करको दायरा विस्तार गर्ने, धूम्रपान तथा अखाद्य वस्तु बिक्रीमा नियन्त्रण गर्ने जस्ता नियामक कदम पनि चालेको थियो । फायर मेसिन जडान, एम्बुलेन्स सेवा विस्तार तथा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको थियो । अस्पतालहरूले उपलब्ध गराउनै पर्ने विपन्न परिवार १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था पनि उनले कार्यान्वयनमा ल्याएका थिए ।
मेयर बालेका यी कदमहरूलाई धेरैले सुधारमुखी र साहसी निर्णयका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रक्रियागत, कानुनी तथा समन्वय पक्षमा प्रश्न उठाउँदै आएका छन् । बालेन महानगरको नेतृत्व पदमा नरहे पनि उनले अघि सारेका यी कामहरूलाई निरन्तरता दिइन्छ भन्ने स्थानीयले अपेक्षा गरेका छन् ।
किन जनताको रोजाइमा परे बालेन ?
नेपाली जनता पुराना नेता तथा कार्यकर्ताबाट थकित र दिक्क भएको छन् । जसले गर्दा जनतालाई राजनीतिमा नयाँ अनुहारका साथै काम गर्ने नेताको पर्खाइमा थिए जुन छवि जनताले बालेन मा देखेका छन् । एउटै नेताहरू घुमिरहँदा युवापुस्तामा “नयाँ विकल्प ” चाहिएको थियो । हालको चुनावी माहोल पनि पुरानो राजनीतिक प्रणालीप्रति असन्तुष्टिबाट आएको हो ।
चुनाव नजिकिँदै गर्दा बालेन युवा पुस्तामा मात्र नभएर अन्य उमेर समूहका मानिसमा पनि लोकप्रिय हुनुको साथै उनलाई परिवर्तनको प्रतीकको रूपमा पनि चिनिएको देखिन्छ । उनले प्रत्यक्ष रूपमा युवासँग जोडिने शैली अपनाएका कारण पनि लोकप्रियता कायम रहेको बुझाइ छ ।
चुनाव नजिकिँदै गर्दा बालेन युवा पुस्तामा मात्र नभएर अन्य उमेर समूहका मानिसमा पनि लोकप्रिय हुनुको साथै उनलाई परिवर्तनको प्रतीकको रूपमा पनि चिनिएको देखिन्छ । उनले प्रत्यक्ष रूपमा युवासँग जोडिने शैली अपनाएका कारण पनि लोकप्रियता कायम रहेको बुझाइ छ ।
विश्लेषकहरूका अनुसार कामबारे प्रश्न उठे पनि उनको “भ्रष्टाचार नगरेको” छवि अझै बलियो मानिन्छ । जसका कारण जनतामा देशको मुहार फेरिने आशा पलाएको छ । उनी एक निडर नेता भएकै कारण पनि युवा पुस्तामा उनको गतिलो छाप बसेको कतिपयको बुझाइ छ । र्यापरबाट नेता बनेको फरक पृष्ठभूमि, सिधा बोल्ने शैली र परम्परागत राजनीतिक ढाँचा बाहिरको छविले उनलाई अरू नेताभन्दा फरक बनाएको देखिन्छ ।
वि.सं.२०८२ फागुन १७ आइतवार १७:२७ मा प्रकाशित





























