१६ साउन, काठमाण्डौं । त्यसो त बाहिरी जिल्लाबाट आएर काठमाण्डौंमा भाडामा बस्नेका लागि सहजरुपमा कोठा पाउन मुस्किल हुन्छ । कोठा पाइहाले पनि घरबेटीको पेलान त्यत्तिकै हुन्छ अझ प्रयोग गर्ने पानी, खानेपानी, बत्तिको विल, फोहर फालेको बिल, कम्पाउण्ड सफाईलगायतका टन्नै बिल बनाएर आउँछन् । त्यसमा बहालवालाले चित्त नबुझे केही प्रश्न गर्यो भने, घरबेटी भन्छन् ‘तपाईलाई चित्त बुझ्दैन भने…. ।
अझै कोठामा दुईचार जोर जुत्ता देखियो भने त ल नयाँ मान्छे आयो र धेरै परिवार भयौं भनेर भाडा बढाई हाल्ने घरबेटी पनि धेरै छन् काठमाण्डौं महानगरमा ।
तर, उनै घरबेटीहरुले कोठा खाली गराई पाउँ भनेर काठमाण्डौं महानगरपालिकको न्यायिक समितिमा उजुरी दिएका छन् । त्यो पनि ५–१० वटा हो र १२३ उजुरी परेका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी कोठा भाडा सम्बन्धी उजुरी परेका छन् । न्यायिक समितिले बुधबार सार्वजनिक गरेको बार्षिक प्रतिबेदनमा १२३ जना घरबेटीले कोठा खाली गराई पाउँ भनेर उजुरी दिएका छन् ।
बहालमा बस्नेले कोठा छोडेर हिड्ने तथा घरबेटी र भाडावाला बिच झगडा हुँदा पनि कोठा खाली गराई पाउँ भनेर उजुरी परेको न्यायिक समितिले जनाएको छ ।
उक्त उजुरीमा न्यायिक समितिले ५४ वटामा निर्णय गरेको छ । ६ वटामा मेलमिलाप, ४३ वीचाराधीन र २० उजुरी तामेलीमा राखिएको पनि प्रतिबेदनमा जनाइएको छ ।
वि.सं.२०७६ साउन १६ बिहीवार ०८:३५ मा प्रकाशित






























