२३ साउन, सुर्खेत । अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो ।
स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो । “उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ”, उनले भने, “प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।” दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन् । रातिको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयवासी बताउँछन् ।
गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर–९ को वडा कार्यालयले चासो दिएको छ । वडाध्यक्ष सुरेश मानन्धरले तोडफोडमा संलग्नको पहिचान गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताए । प्रहरीले मङ्गलबार घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।
वडाध्यक्ष मानन्धरले काँक्रेविहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको बताए । “काँक्रेविहारमा अस्थायी प्रहरी पोष्ट राख्न पनि अनुरोध गरेका छौँ, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुने मध्येको एक स्थान हो”, उनले भने , “पुरातात्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जीर्णोद्धार भइरहेको छ, त्यसैले अब चौकीदार र सुरक्षा पोष्टको आवश्यकता भइसकेको छ ।” पुरातत्व विभागले ०७२ सालदेखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ । काँक्रेविहारमा २१ मिटर अग्लो कलात्मक शिखर शैलीको मन्दिर बन्दैछ ।
जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेविहार क्षेत्रमा विद्युत्, सिसिटिभी क्यामरा जडान र चौकीदार राख्न आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले घटना संलग्नहरुको खोजी भइरहेको बताए । “प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको छ, रातिको समयमा निगरानी बढाएका छौँ”, उनले भने । प्रहरीले लागुऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने अनुमान गरेको छ ।
प्रहरी कार्यालयमै बुद्ध मूर्ति
विसं २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसर पारी बुद्ध मूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेविहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् । पुरातत्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्ध मूर्ति प्रतिस्थापन गर्न नहुने हिन्दू समुदायको तर्क रह्यो ।
उता, बौद्ध धर्मावलम्बीले काँक्रेविहार क्षेत्रमा छरिएका मूर्तिहरु, विहार शैलीका अवशेषले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्न थाले । विवादले उग्र रुप लिन थाल्यो । बुद्ध प्रतिमाले गर्दा दुई समुदायबीच आपसी मनमुटावको बिजारोपण हुन पुग्यो । हिन्दू–बौद्ध तनाव बढ्न नदिन स्थानीय प्रशासनले सहमति नहुञ्जेलसम्मका लागि बुद्ध मूर्ति जिल्ला प्रहरी कार्यालयकै हाताभित्र राख्ने निर्णय ग¥यो ।
काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुनुपर्ने बुद्धको ठूलो प्रतिमा ५ वर्षदेखि प्रहरी परिसरमा राखिएको छ । त्यसयता बर्सेनी बुद्ध जयन्तीमा यहाँका बौद्ध धर्मावलम्बीहरु प्रहरी हाताभित्रै पुगेर पूजापाठ गर्दै आएका छन् । काँक्रेविहारको पहिचानलाई लिएर यहाँका हिन्दू र बौद्ध समुदाय विभाजित छन् ।(रासस)
वि.सं.२०७६ साउन २३ बिहीवार १९:५८ मा प्रकाशित




























