काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई लिएर हालैका दिनहरूमा आएका कतिपय भ्रामक र गलत समाचारहरूप्रति नेपालस्थित जर्मन दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । दूतावासले आधिकारिक वक्तव्य जारी गर्दै उक्त विषयमा केही तथ्य सार्वजनिक गरेको हो।
दूतावासका अनुसार पासपोर्ट खरिद प्रकरणका सम्बन्धमा जर्मनीस्थित नेपाली कार्यवाहक राजदूत (Chargé d’Affaires) लाई जर्मन संघीय विदेश मन्त्रालयमा स्पष्टीकरणका लागि बोलाइएको नभई औपचारिक भेटघाटका लागि निमन्त्रणा गरिएको थियो। कूटनीतिक अभ्यासमा ‘निमन्त्रणा’ र ‘बोलावट (Summon)’ बीच स्पष्ट भिन्नता रहेको र यसलाई गलत रूपमा व्याख्या गरिएको दूतावासले जनाएको छ।
त्यसैगरी, उक्त भेटका क्रममा नेपाल सरकारलाई कुनै पनि प्रकारको विरोधपत्र (Protest Note) वा अन्य आधिकारिक कागजात हस्तान्तरण नगरिएको दूतावासले स्पष्ट पारेको छ।
दूतावासले यस विषयमा अदालती प्रक्रियाको नतिजाका आधारमा कुनै किसिमको चेतावनी वा सम्भावित परिणामबारे संकेत पनि नदिइएको उल्लेख गरेको छ।
जर्मन दूतावासले आफ्नो विज्ञप्तिमा जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने जनाएको छ। न्यायपालिकाको स्वतन्त्रता जर्मनीको संविधानमै सुनिश्चित गरिएको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै दूतावासले चलिरहेको अदालती प्रक्रियाबारे कुनै टिप्पणी नगर्ने आफ्नो नीतिलाई यस प्रकरणमा पनि निरन्तर पालना गरिएको स्पष्ट गरेको छ।
दूतावासले पासपोर्ट खरिद मुद्दालाई लिएर सार्वजनिक भइरहेका गलत वा भ्रामक सूचनाप्रति सचेत रहन र आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।
वि.सं.२०८३ असार १७ बुधवार ११:०९ मा प्रकाशित






























