२४ साउन, काठमाडौं । नवलपरासी(पश्चिम), रौतहट, कपिलवस्तु, पर्सा, बाँके र महोत्तरीका विभिन्न स्थानमा भएका आगालगीबाट करिब ६६ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका- १४ नारायण चोकस्थित नेपाल कपास उद्योगमा बिहीबार साँझ आगलागी हुँदा कपडा, मेशिन र कपास समेत जलेर करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी रौतहट, गढीमाई नगरपालिका- ४ मा नागेन्द्र रायको घरमा आगलागि भएको छ ।
बिहीबार दिउँसो आगलागी भई सो आगलागी छिमेकी जंगिलाल यादवको घरमा फैलिदा दुवै जनाको घर जलेर करिब २९ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
कपिलवस्तु नगरपालिका- ८का रामकृष्ण मुराउको घरमा आगलागि भएको छ ।
मुराउको कच्ची घर(गोठमा शुक्रबार बिहान हुँदा सो घर(गोठ जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
पर्सा, बहुदरमाई नगरपालिका-२ का दुर्गासाहको घरमा आगलागि भएको हो । शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैबीच नेपालगंज उपमहानगरपालिका -११मा फर्निचर गोदाममा आगलागी भएको छ ।
बिपि चोक नजिक सोही उपमहानगरपालिका ४ सल्यानी बंगाला बस्ने असिम सिद्धिकीको बाबा फर्निचर गोदाममा बिद्युत सर्ट भई बिहीबार राति आगलागी भएको हो ।
उक्त आगलागीबाट गोदामको वरपरका घर तथा अन्य फर्निचर उद्योगमा समेत आगलागी हुँदा असिम सिद्धिकी समेत १२ जनाको ११ वटा फर्निचर पसल र १ वटा आर्ट पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।
त्यस्तै महोत्तरी, मटिहानी नगरपालिका– ८ स्थित रंजित कुमार साहको रेडिमेड कपडा पसलमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ साउन २४ शुक्रवार १३:१४ मा प्रकाशित





























