चर्चित गायक, संगीतकार तथा नायक यस कुमारले डेटिङ जाँदा एकसयपटक उठबस गर्नुपरेको खुलासा गरेका छन् ।
प्रेमिकासँग डेटिङ गएका उनलाई सादा पोसाकमा आएका प्रहरीले थर्काउँदै एकसय पटक उठबस गराएको खुलासा गरेका हुन् ।
तर, यस्तो भएको आजभोली भने होइन । कुरा हो २०५४÷०५५ सालतिरको उनी त्यतिबेला काठमाण्डौंमा संघर्ष गर्दै थिए । अहिलेको जस्तो मोबाइलको जमाना थिएन । जीवन चलाउन कठिन भइरहेको बेला उनी प्रेममा परे । त्यतिबेला संचार सम्पर्कका नाममा पेजर थियो । त्यहि पेजरमार्फत् सम्पर्क गर्थिन् उनकी प्रेमिकाले । खासमा यस कुमारलाई त्यो पेजर प्रेमिकाले उपहारका रुपमा दिएकी थिइन् । त्यहि पेजर प्रेम व्यक्त गर्ने माध्यम बनेको र प्रेम झांगिदै गएको बताउँछन् यश कुमार ।
उनै प्रेमिकासँग उनले विवाह पनि गरे । उनी भन्छन्, ‘ अहिले त्यो पेजर संसारमै प्रयोगमा छैन । मेरी प्रेमिका अर्थात् मेरी श्रीमतीले दिएको गिफ्ट भने अहिलेसम्म साँचेर राखेको छु ।’
बागबजारमा स्टुडियो थियो । उनकी प्रेमिका राई स्कुलमा पढ्थिन । उनी अलि अलि स्टेज शो पनि गर्थे । त्यहि क्रममा राई स्कुलमा पनि प्रस्तुति दिए । ‘उनले मन पराइछन्, हामी नजिक भयौं । नजिकै हुनुको पनि अनौठो संयोग थियो । बागबजारमा अफिस छेउ उनको घर रहेछ ।’ यश कुमारले नयाँपत्रिका दैनिकसँग भनेका छन् ।
एकपटक प्रेमिकासँगै डेटिङ गएका थिए । प्रेमिका स्कुल ड्रेसमा थिइन् । उनीहरु पशुपतिको किरातेश्वरमा घुम्न गएका थिए । उनीहरु नजिकै बसेका थिए । त्यहि क्रममा वरिपरी अरु मान्छे पनि थिए । ‘अलि पछि तीनजना मान्छे आए । उनीहरु त सादा पोसाकमा प्रहरीको पो आएका रहेछन । हामीलाई थर्काए । र मलाई सयपटक उठबस गर्न लगाए ।’
वि.सं.२०७६ भदौ ४ बुधवार ०८:२२ मा प्रकाशित



























