२३ भाद्र, काठमाडौं । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको सो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो ।
खेलको ३४ औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । ५१ औं मिनेटमा थप एक गोल गर्दै उज्वेकिस्तानले २–० गोलको जित निकालेको हो ।
यस्तै खेलको १० औं मिनेटमा कप्तान निरु थापा चोटका कारण मैदानबाट बाहिरिएकी थिइन् । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन् । उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेको थिइन् ।
जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालको दुई खेलबाट ३ अंक रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८–२ गोल अन्तरले हराएको थियो । उज्बेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले हराएको थियो ।
नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजकिस्तानको सामना गर्नेछ ।
वि.सं.२०७६ भदौ २३ सोमवार १७:३१ मा प्रकाशित


























