back
CTIZAN AD

समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन

वि.सं.२०७६ असोज ६ सोमवार

846 

shares

६ असोज, काठमाडौँ । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थितिमा आज शुरु भएको विचारधारात्मक प्रशिक्षण त्यसैको सङ्केत हो ।

नेता, कार्यकर्ता र सञ्चारकर्मीको खचाखच उपस्थिति देखिएको प्रशिक्षणको शुभारम्भका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको बताए । नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने उनको भनाइ थियो ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भने, “चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उनको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याए । उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए ।

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए।

प्रधानमन्त्रीकै भनाइमा मिल्दो मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिए । उनले भने,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”

उनले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाए । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो ।

उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक वहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बर्ता । उनले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिए ।

आजै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास व्यक्त गरे ।

प्रकाश सिलवाल (रासस)

वि.सं.२०७६ असोज ६ सोमवार २२:५० मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...