गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव हेमराज शर्माले नयाँ कार्यसमितिले ७४ दिनमा गरेको कार्यको फेहरिस्ता सार्वजनिक गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२०को शुभकामना दिँदै डा शर्माले नयाँ कार्यसमितिले विभिन्न नवीनतम कामको शुभारम्भ समेत गरेको र सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा नयाँ अध्याय थप्ने प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सार्वजनिक गरेको १० बुँदे कार्यमा दश अर्बको सामूहिक लगानी कोष संकलन कार्य अघि बढाइएको देखि एनआरएनए फाउण्डेशन स्थापनाको तयारी, वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, ‘स्मार्ट एनआएएन प्रोजेक्ट’को सुरुवात गरिएको सम्मका कुराहरु समेटिएका छन् ।
यस्तो छ महासचिव डा हेमराज शर्माद्वारा सार्वजनिक गरिएको ७४ दिनको फेहरिस्ता :
“स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका आदरणीय नेपाली दाजुभाई दिदीबहिनी,
सर्वप्रथम, नयाँ वर्ष २०२० को पावन अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछु । सन् २०१९ हाम्रो लागि अत्यन्त फलदायी र सुखद् रह्यो, हामीले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन गर्नुका साथै विभिन्न नवीनतम कामको शुभारम्भ समेत गरेका छौँ । सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा एनआरएनएको नयाँ अध्याय थप्ने प्रयास जारी रहनेछ ।
नयाँ कार्यसमितिको ७४ दिनको समयलाई फर्केर हेर्दा, एनआरएनएले विगतमा थालेको लाप्राक नमुना वस्ती लगायतका परियोजना र अन्य नियमित कामहरुको निरन्तरता दिईरहेको छ । यसबाहेक कार्यसमितिले निम्न नविनतम कामको थालनी गरेको छ ।
१) दश अर्बको सामूहिक लगानी कोष संकलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक सञ्चालक समितिले काम गरिरहेको छ । त्यसका लागि चार्टर एकाउण्डेट तथा बैंकका पुर्व कार्यकारी प्रमुख अनल भट्टराईको संयोजकत्वमा रहेको एक विज्ञ सम्मिलित टोलीले कोषको अवधारणापत्र तयार गरिरहेको छ ।
२) नेपाल भ्रमण वर्ष २०२० का सफल पार्न निवर्तमान अध्यक्ष भवन भट्टको नेतृवमा रहेको समिति र राष्ट्रिय समन्वय परिषद्हरुले तीव्र गतिमा काम गरिरहेका छन् ।
३) सामुहिक नेतृत्वको अवधारणा अनुरुप संघमा विभागीय संरचना लागु गरिएको छ । फ्ल्यागशिप प्रोजेक्ट, वैदेशिक रोजगार, व्यापार लगानी तथा नेपाल प्रवर्द्धन, एनआरएनए नलेज एकेडेमी, परोपकारी तथा मानव कल्याणकारी हित, महिला तथा युवा, संगठन तथा प्रशासन, र एनआरएनए फाउण्डेसन गरी ८ विभागहरु गठन गरी त्यसको नेतृत्व क्रमशः कुमार पन्त, डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी, सोनाम लामा, रविना थापा, डा हेम राज शर्मा र महेश श्रेष्ठले गरिरहनुभएको छ । विभागीय प्रमुखले कार्यकालको कार्ययोजना जनवरीमा पोखरामा हुने बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।
४) दोश्रो एनआरएन विज्ञ सम्मेलन काठमाडौमा गर्न डा हेम राज शर्मा र विशेषज्ञहरुको समितिद्वारा तयारी तीव्र बनाइएको छ । अक्टोवर २०२० मा धुलिखेलमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।
५) नेपाल र विदेशमा एनआरएनए फाउण्डेशन स्थापना गर्न कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एकनाथ खतिवडा, डा पुरु श्रेष्ठ लगायतको टोलीले अवधारणापत्र बनाइरहेको गरिरहेको छ । आगामी अक्टोवरभित्र फाउण्डेशन स्थापना गर्ने र एनआरएनएले सञ्ंचालन गर्ने सबै परोपकारी परियोजना फाउण्डेशन मातहत ल्याउने तयारी गरिएको छ ।
६) पारदर्शी र तथ्यपरक आर्थिक कारोबारका लागि अडिट समिति गठन गरिएको छ, छुट्टै स्वतन्त्र विज्ञहरुको टोलीले म्गभ म्ष्ष्निभलअभ ब्गमष्त ९म्म्ब्० गरिरहेको छ । त्यसको रिपोर्ट अन्तिम चरणमा छ ।
७) वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न डा। बद्री केसीको नेतृत्वमा विज्ञहरुको समिति गठन गरिएको छ । वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, पदाधिकारीहरुबाट रु १ करोड भन्दा बढीको सहयोग रकम संकलन भएको छ । रेमिटेन्सको केही अंशबाट राहत कोष निर्माण गर्न राष्ट्रबैंकसँग प्रारम्भिक छलफल भएको छ ।
८) व्यवस्थित र सहभागितामुलक निर्वाचन गर्न विधानमा आवश्यक परिमार्जन र परिवर्तन गर्न विशेष महाधिवेशनको तयारी भइरहेको छ ।
९) संघलाई अत्याधुनिकरण बनाउन गौरी जोशी नेतृत्वमा ‘स्मार्ट एनआएएन प्रोजेक्ट’ सुरु गरी त्यसको लागि सिष्टम अडिट थालिएको छ । त्यसको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।
१०) काठमाडौंको मुख्य स्थानहरुमा सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरसँग समन्वय र सहकार्य जारी रहेको छ ।
सन् २०१९ मा एनआरएनएले शुभारम्भ गरेको नवीन सोच र कार्ययोजना र कार्यन्वयनमा तपाई सबैको भरपूर साथ र समर्थन प्राप्त भएको छ । हामी अत्यन्त आभारी छौँ त्यसका लागि । त्यही साथ, सहयोग र समर्थन वर्ष २०२० मा पनि यथावत् रहोस् ताकी हामीले साँच्चै महसुस गर्ने गरी काम गर्न सकौँ र विद्यमान बाधा व्यवधान पन्छाउन सकौँ र नयाँ ढंगले परिमार्जन र परिवर्तनसहित नयाँ अध्याय कोर्न सकौँ ।
ब्यक्तिगतरुपमा, अनेकौँ चुनौतीका बाबजुद गैरआवासीय नेपाली संघको महासचिव जस्तो गरिमामय पदमा निर्वाचित हुन पाउँदाको पलले हर्षविभोर बनाएको छ । त्यति ठूलो जिम्मेवारीका लागि तपाई सबैले गर्नुभएको विश्वास र भरोसा प्रति नतमस्तक छु । चुनावी अभियानका क्रममा कयौं नयाँ साथीहरु जोडिनुभयो, कतिको भने मनचित्त बुझाइदिन नसकेपनि आगामी दिनमा व्यक्तिगत रुपमा हामीबीच पुर्ण सहकार्यको वातावरण बन्नेछ भन्नेमा म आशावादी छु ।
सामाजिक हिसाबले मात्रै होइन, सन् २०१९ व्यक्तिगत र प्राज्ञिक हिसाबले पनि सन्तोषजनक नै रह्यो । विशेषतः विश्वविद्यालयको सहप्राध्यापकको नाताले आफ्नै संलग्नता र निरन्तरको मार्गदर्शनमा एकजना विद्यार्थीले पिएचडी सम्पन्न गरेका छन् भने दुई जनाले सुरु गरेका छन् । जुन मेरा लागि अत्यन्त सन्तोषजनक पक्ष हो ।
आफ्नै जन्मथलो बाग्लुङको अमलाचौरमा पूर्व विद्यार्थी मिलेर बनाइएको नयाँ विद्यालय भवन, विज्ञान तथा कम्प्यूटर ल्याब, ई–लाईब्रेरी र मल्टिमेडिया सेन्टरको स्थापनाले आनन्ददायीमा क्षणको स्मरण गराउँछ । सम्माननीय राष्ट्रपतीज्यूले उद्घाटन गर्नुभएको सो संरचना निर्माण अभियानको महत्वपूर्ण अङ्ग बन्ने अवसर जुर्नु वास्तवमै सम्झनयोग्य बन्यो सो अभियानलाई गन्तव्यसम्म पुर्याउन हामी दत्तचित्त छौँ ।
सफलता प्राप्त गर्न भन्दा पनि प्राप्त सफलतालाई टिकाइराख्न कठिन छ, मैले बोध गरेको शाश्वत सत्य पनि यही हो, तसर्थ, वर्ष २०१९ ले मलाई दिएको सफलताको शाख टिकाइराख्न मेरो प्रयास वर्ष २०२० मा जारी रहनेछ । यो वर्षले मलाई ठूलो जिम्मेवारी दिएको छ, जुन मेरा लागि एउटा अवसर पनि हो । यसै अवसरको भरपुर सदुपयोग गरी वर्ष २०२० लाई उत्साहपद् र सफल बनाउने लक्ष्य राखेको छु । आशा छ, यो लक्ष्य प्राप्तीमा तपाई सबैको साथ, सहयोग र समर्थन अवश्य मिल्नेछ ।”
महासचिव
डा हेम राज शर्मा
गैरआवासीय नेपाली संघ
वि.सं.२०७६ पुस १६ बुधवार १०:२१ मा प्रकाशित






























