प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गरे ।
पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उनले भने, “यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन । हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।”
तत्कालीन परराष्ट्र मन्त्री कृष्णबहादुर महराले तत्कालीन समयमा भएको वार्ताका क्रममा संसदबाट अनुमोदन गर्न र सरकारबाट पास गर्न पनि समस्या हुँदैन भनेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसपछि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिका गएर सम्झौता गरेको स्पष्ट पारे । महराले एमसीसी रोकेको भन्ने कुरामा सत्यता नरहेको उनको जिकिर थियो ।
वि.सं.२०७६ माघ १५ बुधवार १४:३६ मा प्रकाशित






























