१९ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशालि नेता लीलामणि पोखरेलले राष्ट्रियता जस्तो संवेदनशिल बिषयमा पार्टीले ह्विप लगाउन नहुने बताएका छन् ।
काठमाण्डौको झोछेमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा नेता पोखरेलले सो कुरा बताएका हुन् । इन्द्रेणि मिसा पुचद्धारा आयोजित एमसिसि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सो पार्टीको बिशेष ब्युरो इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य पोखरेलले महाकाली लगायतको पुरानो घाउलाइ संस्मरण गर्दै यस्तो बिषयमा पार्टीले ह्विप लगाउन नहुने बताएका हुन ।
उनले व्यक्तिगत रुपमा आफूलाई यस्तो राष्ट्रघात सैह्य नहुने बताउँदै जनता, समर्थक, कार्यकर्ता र नेता सबैको प्रयास रहेमा यो पास हुनै नसक्ने पनि बताएका छन् । टोल टोलमा यस्ता जागरण बढेमा राष्ट्रघात रोकिने बताएका हुन् । यसको प्रभाव र परीणामबारे धेरै केन्द्रिय सदस्यहरुबाट बिरोध आएकाले तत्काल पास नहुनेमा आफू ढुक्क रहेको समेत उनले बताएका थिए ।
एमसिसि विरुद्धको आन्दोलन चर्कदै, माघ २४ गते देशब्यापि प्रदर्शन
आन्दोलनमा साना दलहरु
नेकपाकै नेता नारायण शर्मा नेतृत्वमा बनेको एमसीसी खारेज अभियानले एमसीसी बिरुद्धको आन्दोलन चर्काउदै लगेपछि साना दलहरुले पनि माघ २४ गते देशब्यापि प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका छन । यसअघि काठमाण्डौ स्थित माईतिघर मण्डलामा एम सि सि खारेजीको माग राखी बिभिन्न राजनीतिक पार्र्टी तथा सङ्घसंस्थाहरुको सहभागिता सहित एमसिसि खारेज अभियान २०७६ को मूल आयोजनामा विरोध सभा भब्य रुपमा सम्पन्न भएको छ ।
नारायण शर्माको विशेष मन्तब्य सहित अध्यक्षता र आर सी न्यौपानेको संचालनमा सम्पन्न उक्त सभामा सिपी मैनाली, घनश्याम शर्मा पौडेल, लोक कृष्ण भट्टराई, बोर्ण बहादुर कार्कीर्, साध्य बहादुर भण्डारी, नरेन्द्रजङ्ग पिटर, हरिकृष्ण गजुरेल, एकराज भण्डारी, भरत शाही, भावना विद्रोही, अशोक महर्जनले एम सि सि तथा राष्ट्रियताका विषयमा मन्तब्य राखेका थिए भने राष्ट्रियताले ओतप्रोत भएका गीत प्रश्तुत हुनुका साथै शोभाद्धारा कविता बाचन समेत भएको थियो । सो विरोध सभामा स्वनाम साथी लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको राम्रो उपस्थिति रहेको थियो ।
यसैगरीै नेकपा क्रान्तिकारी माओवादी र मसाल लगायत नौ दलले देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनताको संघर्ष चर्काउने सहमति गरेका छन् । राष्ट्रिय स्वाधीनताको मुद्दामा कार्यगत एकताको घोषणा गर्दै नौ दलले आगामी माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने घोषणा गरेका छन । यी कार्यक्रमपश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने समेत जनाइएको छ । बैठकले कार्यगत एकतासम्बन्धी आचार संहिता समेत बनाएको जनाइएको छ ।
एमसीसी संकटमा, अध्ययन कार्यदल बन्न सक्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चालु बैठकमा एमसीसी विरुद्धको जनमत निकै ठूलो भएका कारण सो सम्बन्धी प्रस्ताव संकटमा पर्ने भएकाले सो सम्बन्धि अध्ययन कार्यदल बन्नसक्ने संभावना बढेर गएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सभामुखलाई बधाई दिँदा मात्र होइन, माघ १५ देखि चालु केन्द्रीय समितिको बैठकमा समेत एमसीसी पास गरिहाल्नुपर्ने बताए पनि पार्टीभित्रका बहस प्रक्रियामा एमसीसी विरुद्ध झण्डै दुई तिहाइ मतको संकेत देखिए पछि एमसीसी संकटमा पर्ने सम्भावना बढेको हो ।
एमसीसी रोकेकै कारण तत्कालिन सभामुख कृष्ण बहादुर महरासँग चिढिएका प्रधानमन्त्री ओलीले पूर्व माओवादीका तर्फबाट देव गुरुङलाई सभामुख बनाउनै नहुने भनेको कुरो प्रचारमा आएको थियो भने अग्नि सापकोटालाई असहजताका साथ स्विकारिएको विश्लेषण पनि गरिएको थियो । सभामुखमा निर्वाचित अग्नि सापकोटाले एमसीसीका लागि ‘हतारो नभएको’ कुटनैतिक अभिव्यक्ति यसअघि दिइसकेका छन् ।
चालु केन्द्रीय समितिमा भाग लिएका झण्डै साढे ४ सय केन्द्रीय सदस्य मध्ये ३ सय बढि केन्द्रीय सदस्यहरु एमसीसीको विरुद्धमा रहेको अनुमान गरिएको छ । सो पार्टीको सचिवालयमा अध्यक्ष ओली र महासचिव विष्णु पौडेल एमसीसीको पक्षमा र छिटो हुनुपर्ने प्रष्ट अडानमा छन् भने प्रचण्ड, इश्वर पोखरेल र राम बहादुर थापा परिमार्जन हुनैपर्ने बताइरहेका छन् । माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एमसीसी प्रस्तावको प्रष्ट विपक्षमा छन् ।
नेपाल मजदुर किसान पाटीका नेता नारायणमान बिजुक्छेले आन्दोलन बढाउनुपर्ने धारणा राखेका छन । नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले तथा पुष्पलाल अध्ययन समाज लगायतका दल र संघ संस्थाहरु सक्रियतापूर्वक लागेकै बेला एमसीसी ठूलो राष्ट्रघात भन्दै कम्युनिष्ट नेता सशि शेरचन ‘स्वनाम साथी’ ले काठमाण्डौंमा संघसंस्थाहरुको भेला बोलाई बृहद् प्रदर्शनको तयारी गरेका छन् । सो संगै उपत्याकाका टोल टोलमा कार्यक्रमहरु बिस्तार हुन थालेका छन् ।
वि.सं.२०७६ माघ १९ आइतवार ०७:४० मा प्रकाशित






























