२९ माघ, काठमाण्डौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गाउँपालिकामा कोरोना भाइरसको जस्तै लक्षण देखिएको भन्दै आवस्यक सहयोगका लागि केन्द्र स्वास्थ्य मन्त्रालयसँग आवस्यक सहयोग माग गरेको छ ।
गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मंगलबार एक पत्र लेख्दै गाउँपालिकाको वडा नं ३ साविक गुम्बा गाविस वडा नं ८ गुम्बा बस्तिमा माघ २७ गते देखि विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा खोकी र अत्याधिक ज्वरो जस्ता लक्षणका विरामी देखिएको भन्दै सो को परीक्षण गरी रोग पहिचनानका लागि विशेष टोली खटाइ आवस्यक सहयोग गरिदिन अनुरोध गरेको हो ।
यसै विषयमा गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले कोरोना भाइरस नै भन्ने नभएको र त्यस्तै लक्षण देखिएको संसारन्युजसँग बताए । उनका अनुसा उक्त गाउँमा २०० जनाले आफूपनि त्यस्तो लक्षणबाट प्रभावित भएको भनेर स्वस्थ्य परीक्षणका लागि नाम लेखाएका छन् ।

‘अहिले ७ :३० सम्म २०० जनाले नाम लेखाइसक्नु भएको छ । कोरोना नै हो भन्ने होइन, तर, आशंका गरिएको हो । हामी डाक्टरको टोली लिएर त्यहाँ जाँदैछौं,’ श्रेष्ठले संसारन्युजसँगको कुराकानीमा भने,‘बेलैमा सजगता अपनाउन खोजिएको हो । २०० जनामा १० जनालाई उपचार गरेर पठाएका छौं राम्रो पनि भएको छ । एकजना अलि सिकिस्त हुनुहुन्छ ।’
वि.सं.२०७६ माघ २९ बुधवार ०८:३४ मा प्रकाशित






























