१ फागुन, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनताको सहभागितामा भएका आन्दोलनलाई सत्तामा जाने भर्याङको रुपमा उपयोग हुने गरेको बताएका छन् । २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार एक वक्तव्य जारी गर्दै बैद्यले क्रान्तिको प्रक्रिया जारी रहेको पनि बताए ।
नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको सम्पूर्ण प्रक्रिया भने समाप्त नभएको बैद्यको भनाइ छ । वैद्यले तत्कालीन नेकपा माओवादीको मूल नेतृत्वको गद्दारीका कारण जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर घक्का खान पुगेको पनि बताएको छ ।
‘१० वर्ष जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलनमा जनताले बगाएको रगतको आहालमा टेकेर सत्तामा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्,’ वैद्यले आफ्नो वक्तव्यमा भनेका छन् ।
पार्टीले जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति सम्मान व्यक्त गरेको छ ।
वि.सं.२०७६ फागुन १ बिहीवार १३:३५ मा प्रकाशित






























