मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यदलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कटाक्ष गरेका छन् । ९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसी कार्यदलप्रति इंगित गर्दै भने ‘अढाई वर्ष अगाडि सम्झौता भयो, अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँदैछौं, यो त तमासा हो’
८ वर्ष अगाडि २०१२ मा नेपाल यसका लागि एमसीसीका लागि योग्य भएर २०१५ मा आएर अनुदान सहयोग पाउने टुंगो भएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले आएर यसबारे बहस गर्नु अनावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले भने,‘यस्ता अभ्यासले हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कमजोर बनाउँछन् ।’
आफूहरुले सरकारमा नभएको समयमा पनि एमसीसी सम्झौता बारे अध्ययन गरेको र यो सही छ भनेको प्रधानमन्त्रीले बताए । ‘हामीले त्यसैबेला सम्झौताको अध्ययन गर्यौं र यो ठीकै छ, अनुदान लिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं’ प्रधानमन्त्री ओलीले भने,‘ हामी प्रतिपक्षमा थियौं, तर पनि हामीले त्यसको समर्थन गर्यौं । यो कुनै शर्तअन्तर्गत आएको होइन ।’
एमसीसीलाई रद्द गर्न सकिने प्रावधान समेत रहेको र चित्त नबुझे एक महिना अघि जानकारी दिएर रद्द गर्न सकिने बताए । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले १० दिनको समयसीमा पाएको थियो ।
यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप समय मागेको थियो । तर कार्यदलको समय भने थपिएको थिएन ।
वि.सं.२०७६ फागुन १ बिहीवार १४:१९ मा प्रकाशित






























