१३ फागुन । राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा उपरथी हमाललाई नियुक्त गरेका हुन् ।
सन् १९८३ मा आर्टिलरी अधिकृतका रुपमा नेपाली सेनाका प्रवेश गरेका उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन् । उनले गुल्म, गण, वाहिनी र पृतनाकोसमेत नेतृत्व गरिसकेका छन् ।
लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका उनले नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका छन् । हमाल राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकारी हुन् ।
हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।
वि.सं.२०७६ फागुन १३ मंगलवार १०:२२ मा प्रकाशित






























