१४ फागुन, काठमाडौं । मातातीर्थको सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज संसदबाट जवाफ दिने भएका छन् । मातातीर्थको जग्गा जनताको सम्पत्ति जनतालाई नै दिनुपर्ने सिद्धान्तअनुसार नै नीतिगत निर्णय गरेर जनतालाई भोगचलनका लागि दिएको उनले बताएका छन्।
मातातीर्थको सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि डा भट्टराईले ट्विट गर्दै आफू ‘जसको जोत उसको पोत’ भन्ने नारासहित क्रान्तिमा होमिएकोले जनताले भोगचलन गरेको जमीन जनतालाई नै दिएको बताए।
उनले लेखेका छन्, ‘मातातीर्थ क्षेत्रको जमीनमा पुस्तौंदेखि खनजोत गरिरहेका यी निस्सहाय गरीबरदलितहरूको अधिकार खोसेर यति होल्डिंग्स र आसेपासेलाई सुम्पने ओली सरकारको षड्यन्त्रलाई सबैले बेलैमा बुझौं र परास्त गरौं! कुरा प्रष्ट छ-ओली जोताहाको जमीन ट्रष्ट हुँदै यतिलाई दिन खोज्ने तर बाबुराम जोताहालाई नै दिने!
सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि पूर्वप्रधानमन्त्री डा भट्टराई स्थानीयबासीलाई भेट्न मंगलबार चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए।
वि.सं.२०७६ फागुन १४ बुधवार १२:५९ मा प्रकाशित























