१५ फागुन, काठमाडौाँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएकोले “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।
शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
वि.सं.२०७६ फागुन १५ बिहीवार ०९:५१ मा प्रकाशित






























