३० फागुन, काठमाण्डौं । अत्यधिक मदिरा सेवनका कारण धनुषामा पाँचजनाको मृत्यु भएको छ ।
धनुषाको क्षीरेश्वर नगरपालिका २ रमदैयामा अत्यधिक मदिरा सेवन गरेका कारण एउटै गाउँका पाँचजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका मृत्युहुनेमा ६५ वर्र्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा ३५ वर्षीय ब्रहमदेव यादव र ३० वर्षीय राजु महरा रहेका छन् । साथै मदिरा सेवन गरेका अर्का इनरजीत महरालाई घोपा क्याम्प धरानमा आइसीयुरमा राखेर उपचार गरिएको बताइएको छ ।
प्रहरी निरीक्षक नायकका अनुसार उनीहरुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको डाक्टरहरुले बताएका छन् । उनका अनुसार ३ जनाको फागुन २७ गते (होलीको दिनमा) र २ जनाको विहिबार मृत्यु भएको हो ।
‘मृत्युभएकहरु एउटै गाउँका हुन् । प्रारम्भिक अनुसन्धानमा त्यस्तो देखिएको छ । हामी छानविन गर्दैछौं उनीहरुले कहाँ र कस्तो मदिरा सेवन गरेका थिए भनेर ।’ प्रहरी निरीक्षक नायकले संसारन्युजसँग भने ।
नायकका अनुसार मृत्यु भएका तीनजनाको कालगतिले मृत्युभएको भनेर परिवारले शब दाहसंस्कार गरिसकेको र एकजना भारतीय नागरिकको परिवारले शब बुझिसकेको तथा १ जनाको शब पोष्टमार्टमा लागि प्रादेशिक अस्पतालमा पठाइएको छ ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:१२ मा प्रकाशित






























