३० फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वका १२७ देशमा फैलिएसँगै नेपालको अर्थतन्त्र पनि प्रत्यक्ष असर परेको छ । विशेष गरी पर्यटन क्षेत्र र विमान कम्पनी बढी मारमा परेको देख्न सकिन्छ । कोरोना संक्रमणको डरले यात्रु नपाएकै कारण कतिपय विमानहरु ग्राउन्डेड भएका छन् ।
विमान कम्पनीका अनुसार अहिले आन्तरिक उडानमा यात्रुको संख्या ६० प्रतिशतले कमी आएको छ । एकाएक विमानहरु ग्राउन्डेड हुने अवस्था आउपछि नेपाली विमान कम्पनीहरुले भाडा समायोजन गरेका छन् । एयरलाइन्सहरुले भैहरवा–काठमाडौंको रुटमा हवाई भाडा २५ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । त्यस्तै, बिराटनगर–काठमाडौंको रुटमा हवाई भाडा २६ सय रुपैयाँसम्म कायम गरिएको छ ।
काठमाडौं–पोखराको रुटमा हवाई भाडा २ हजार रुपैयाँसम्म झरेको छ । त्यस्तै, काठमाडौं–भैरहवाका लागि २५ सय रुपैयाँ, काठमाडौं–भरतपुर २९ सय रुपैयाँ, काठमाडौं–बिराटगनरका लागि २७ सय रुपैयाँसम्म हवाई भाडा कायम भएको छ ।
पर्यटकले भरिने राजधानी काठमाडौं, पोखरा, सौराहालगायतका होटलहरु यतिबेला सुनसान जस्तै छन् । यसले प्याराग्लाइडिङमा पनि ठूलो असर परेको छ । सरकारले अनअराइभल भिसामा रोक लगाएपछि यो संकट थप एक महिना अझ लम्बिने निश्चित भएको छ ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १३:२७ मा प्रकाशित





























