
३० फागुन, काठमाण्डौं । देशैभरीका लघुवित्त संस्थाको संचालक समितिको अध्यक्षमा जगत पोखरेल चयन भएका छन् ।
देशैभरीका ९० बढी लघुवित्त संस्थाका अध्यक्षहरुको फागुन ३० गते काठमाण्डौंमा भएको एक भेलाले गठन गरेको नयाँ संस्था ‘लघुवित्त संस्था’ मा चौतारी लघुवित्तिय संस्थाका अध्यक्ष पोखरेल चयन भएका हुन् ।
उक्त संस्थाको उपाध्यक्षमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी, महासचिवमा जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिवमा सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्षमा आंधिखोला लघुवित्तका नरेश केसी तथा सदस्यहरुमा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी चयन भएका छन् भने दुई सदस्य पछि थप गरिने बताइएको छ ।
अध्यक्ष पोखरेलले संस्थालाई भविष्यमा लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त बैंकर्स संघ स्थापना गरिने बताएका छन् । अहिले देशभर ९० ओटा लघुवित्त संस्था छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष ३२ अर्ब ५९ करोड र कूल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको छ ।
७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका यी संस्थाहरुको कूल तीन हजार ८६१ शाखा, दुई लाख ९८ हजार ३५९ वटा सेवा केन्द्र तथा एकलाख ५,५३८ समूह रहेको बताइन्छ । साथै लघुवित्त क्षेत्रमा अठार हजार ८८५ जना कर्मचारी, पैतालिस लाख ७९ हजार ८१५ जना सदस्य रहेकोमा अठ्ठाइस लाख पाँचहजार आठसय पन्ध्र जनाले यी संस्थाबाट ऋण लिएको बताइएको छ ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:५५ मा प्रकाशित