
९ चैत, काठमाण्डौं । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आज बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरेका हुन् ।
नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापनासँगै काठमाडौँ उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए । “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ”, उनले भने ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १२:५३ मा प्रकाशित