२९ चैत, काठमाण्डौं । कोरोनाबाट सिकिस्त भएका बिरामीहरुको उपचारको लागी राष्ट्रिय आविष्कार केन्द्रले नयाँ उपकरण बनाएको छ ।
डा. महावीर पुन प्रमुख रहेको उक्त आविस्कार केन्द्रले विगत केही दिनदेखि विशेषत कोरोना संक्रमणका विरामी जाँचका लागि खटिने चिकित्सकका लागि पीपीई लगायतका विभिन्न उपकरण बनाएर वितरण समेत गर्दै आएको छ ।
त्यसैगरी शनिबार सो केन्द्रले एरोसोल बक्स निर्माण गरेको छ । (जुन कोरोनाको बिरामीको टाउको फोटोमा देखाइए जस्तै गरि बक्समा छिराएर डाक्टरले बिरामीलाइ जाँच्न सक्छन ।) उक्त बक्समा राखेर कोरोनाको विरामीको उपचार गर्दा बिरामीले हांच्छिउ गर्दा वा बिरामीले फेरेको सास सिधै डाक्टरसम्म जानबाट रोक्ने र डाक्टरहरु सुरक्षित बनाउने बताइएको छ ।
केन्द्रले अहिलेसम्म यस्तो बक्स बनाएर बीर अस्पताल र सैनिक अस्पताल छाउनीलाई दिईसकेको तथा कोरोनाका लागी नै भनेर स्थापना गरिएका अन्य अस्पतालहरुलाई पनि दिइने बताएको छ । उक्त बक्स आवस्यक परेमा ९८४१५९२३६१ नम्बरमा फोन गर्न समेत बताइएको छ ।
त्यस्तै केन्द्रले इमर्जेन्सी भेन्टिलेटर (तल फोटोमा देखिए जस्तै ईमरजेन्सी भेन्टिलेटर) को नमुना तयार भएको जनाएको छ । कोरोनाले ग्रस्त बिरामीहरुलाई सास फेर्न यो नभई नहुने र आबश्यक परेको खण्डमा अरु यस्तै ईमरजेन्सी भेन्टिलेटरहरु तयार गर्न सकिने समेत बताइएको छ ।

यो इमर्जेन्सी भेन्टिलेटर अमेरिकाकोMassachusetts Institute of Technology (MIT ) का अनुसन्धानकर्ताहरुले बिकास गरेर खुल्ला रुपमा उपलब्ध गराएको नमुनाको आधारमा बनाईएको पनि केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले यसका अलावा बीर अस्पताल, ट्रमा सेन्टर, टिचिंग अस्पताल, गंगालाल अस्पताल र सैनिक अस्पताल छाउनीमा बिग्रिएका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि धमाधम भएको र तयारी अबस्थामा राखिंएको बताएको छ । बिग्रेका ति भेन्टिलेटरहरुको लागि फेर्नु पर्ने आबश्यक पार्टपुर्जाहरु खरीद पनि राष्ट्रिय आविष्कार केन्द्रले नै गरेको तथा अन्य अस्पतालहरुको बिग्रेको भेन्टिलेटरहरुको पनि मर्मत गर्ने सहयोग गरिने सूचना समेत जारी गरिएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार २१:०६ मा प्रकाशित




























