२१ बैशाख, अमेरिका । विश्वलाई नै हायलकायल पार्ने गरी प्राकृतिक प्रकोपको रूपमा आएको कोरोना भाईरस कोभिड १९ को संक्रमणवाट मानवियक्षति कम गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका सुरुवाती दिनदेखि नै लागि परेको छ ।
महासंघले सुरूवातमा सबै नेपाली समुदायमा जनचेतना फैलाउने, कोरोना संक्रमणवाट वच्ने उपायाहरू, विभिन्न संचारमाध्यामहरूको प्रयोग तथा सामाजिक संजालहरूमार्फत सचेतना जगाउने कार्यहरू गरेको छ ।
यद्यपि यो रोगले आक्रान्तरूप लिईसकेपछी अमेरिकी सरकारको लकडाउनको नियमको पालना गर्दै सबैलाई सुरक्षित रहन र जो संक्रमित छन् उनीहरुलाई विभिन्न सेवा दिन विभिन्न सहयोग समितीहरू, स्वयंसेवक टोली निर्माण गरी नेपाली समुदायविचमा संकटको सारथीको रूपमा उभिइ सहयोगको हात अगाडि बढाएको छ ।
‘यो समस्या एक संस्था वा कुनै क्षेत्र वा समुदायको वा कुनै देशको मात्र नभएर यो सिंगो विश्वकै समस्याको रूपमा रहेको छ । त्यसकारण यसलाई हामी सबै मिलेर परास्त गर्नुको विकल्प छैन,’ महासंघका अध्यक्ष लोक चेम्जोङले भन्छन्, ‘त्यसैले नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले आफ्नो सदस्य संस्थाहरू सहित न्यूयोर्कमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरू सम्मिलित ‘कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह, न्यूयोर्क’ को निर्माण र सक्रिय भूमिका निर्वाह गर्दै सबै सामाजिक अभियन्ताहरूको साझा नेतृत्व निर्माण गर्दै त्यसमा सक्रियता जनाईरहेको छ ।’
महासंघले सबै नेपाली समुदायको सुख दुःखको सारथी बन्ने प्रयाससहित सुरूवातमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू, टाइनोल, ह्याण्ड स्यानिटाइजर, पन्जा, थर्मोमिटर लगायत सामाग्रीहरू वितरण गरेको थियो ।

त्यसैगरी दोस्रो चरणमा कोरोना संक्रमित परिवारलाई आवश्यक खाद्यान्न, औषधीजन्य सामाग्रीहरू उपलब्ध गराउनुका साथै सर्जिकल मास्क, एन ९५ मास्क पर्याप्तरूपमा वितरण गरेको पनि अध्यक्ष चेम्जोङले बताएका छन् ।
‘फिप्नाको अध्यक्ष भएका नताले पनि मैले प्रत्यक्ष स्वयंसेवी भूमिमा निभाउँदै हालसम्म प्रत्यक्षरूपमा १०५ भन्दा धेरै परिवारमा आफै सामान पुर्याएर, कार सर्भिस, कतिपय आफै सामान लिन आएर, लगायत विभिन्न माध्यमको प्रयोग गर्दै सम्बन्धीत पिडित परिवारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ भने फिप्नाको पहलमा विभिन्न संघ संस्थाहरूका स्वयंसेवकहरूमार्फत हजारौ परिवारमा सेवा उपलब्ध भएको छ ।’ अध्यक्ष चेम्जोङले भने ।
महासंघले संस्थागत तथा समुहगत रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराएकामा कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह न्यूयोर्क, किराँत चाक्थुङ चुम्लुङ अमेरीका, किराँत राई सोसाइटी अफ अमेरीका, गुरूङ सोसाइटी अफ अमेरीका, तामाङ सोसाइटी अफ अमेरीका, तामाङ सोसाइटी अफ नर्थ अमेरीका, शेर्पा संघ अमेरीका,नेवा गुठी न्यूयोर्क, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका,युनाईटेड मुगुम अर्गनाईजेशन, शेर्पा किदुक अमेरीका, घ्यालसुम्धो सेवा संस्था अमेरिका, मुस्ताङ किदुक अमेरीका, जिरेल संघ अमेरिका,नुब्रि संघ अमेरीका,ढुक्पीया किदुक अमेरीका, मगर संघ अमेरिका, वालुङ किदुक अमेरिका, ह्लल्मो सोसाइटी अफ अमेरीका, युनाईटेड नेप्लिज विद्यार्थी यूनियन लगायत रहेका छन् ।
यी संस्थाहरूलाई आवश्यकता अनुसार र उपलब्ध भएसम्म टाइनोल, ह्याण्ड स्यानिटाइजर, पन्जा, थर्मोमिटर लगायत सामाग्रीहरू छुट्टाछुट्टैरूपमा उपलब्ध गराइएकोछ । यी बाहेक आगामी दिनमा अमेरीकामा क्रियाशील अन्य विभिन्न संघसंस्थाहरूसंग पनि प्रत्यक्ष सहकार्य गरेर अगाडी बढ्ने नै अध्यक्ष चेम्जोङले बताएका छन् ।

फिप्नाले संस्थागत रूपमा हालसम्म २३ सय प्रति टाइनोल, १२ सयप्रति सर्जिकल मास्क, २ सय प्रति एन ९५ मास्क, ५० प्रति ह्याण्ड सेनिटाइजर, २० प्रति थर्मोमिटर अध्यक्ष लोक चेम्जोङको हातबाट वितरण गरिसकेको छ । फिप्नाले यतिधेरै स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुमा विभिन्न व्यक्तीहरू, व्यावसायीहरू तथा संघ संस्थाहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
महासंघले स्वास्थ्य सामग्री उपलब्ध गराउनेहरूमा न्यूयोर्क निवासी समाजसेवी तथा व्यावसायी लिला राई, गिरिजा प्रासाद कोईराला फाउण्डेशन अमेरिका, शेर्पा किदुक अमेरीका, फिप्नाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष मानबहादुर रानामगर, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीकाकी अध्यक्ष श्रीमती मुना राई लगायत सम्पूर्ण सहयोग मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
त्यसैगरी समन्वयात्मक भुमिकाको लागि युनाईटेड किराँत राई अर्गनाईजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, फिप्ना संघिय परिषदका सदस्य सचिव छिरिङ राप्के लामा तथा एनआरएन न्यूयोर्क च्याप्टरका निवर्तमान उपाध्यक्ष विष्णु रानामगर मगर तथा मानविय कार्यमा साथ सहयोग दिने समाजसेवी, विभिन्न संघ संस्थागत प्रतिनिधीहरू, नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका सदस्य संस्थाका नेतृत्वमा रहेका महानुभावहरू, फिप्नाका संघिय परिषदका सभामुख, उपसभामुख तथा सदस्य सचिवहरू साथै कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरू र सम्पूर्ण सुभेच्छुक शुभचिन्तकहरूमा अध्यक्ष चेम्जोङले आभार व्यक्त गरेका छन् ।
वि.सं.२०७७ वैशाख २१ आइतवार १०:४१ मा प्रकाशित






























