१ जेठ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।
समितिकी सभापति जयपुरी घर्तीको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले नेपाल फर्कन चाहने मजदुर, विद्यार्थी र अन्य सबैलाई नेपाल फर्काउन आवश्यक पर्ने तयारी गर्न लगायतका १० बुँदे निर्देशन दिएको छ ।
बैठकले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसनसहित आवश्यक व्यवस्था गर्न र विदेशमै बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवम् तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारले गरेका कार्यहरुको बारेमा जानकारी लिने उद्देश्यले छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पनि डाकिएको सभापति घर्तीले बताइन् । मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेका प्रयास, रोकथाम, नियन्त्रण र उपचारका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै बैठकले लकडाउनमा परी अलपत्र परेका नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गर्नुका साथै संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्ला वा घर फर्काउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
यस्तो छ, समितिले सरकारलाई दिएको १० बुँदे निर्देशन :
१) सरकारले कोभिड– १९ वाट प्रभावितको उपचार, रोकथाम र नियन्त्रणका लागि गरिएका उपायहरु र लकडाउनको निर्णय सकारात्मक छन् । यसका लागि चिकित्सक, स्वास्थ्यकर्मीहरु सुरकक्षाकर्मी, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश र स्थानीय सरकारलाई समिति धन्यवाद दिन चाहन्छ ।
२) नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम तीब्रतापूर्वक बढिरहेकोले स्वास्थ्य परिक्षणको दायरा तीब्र बनाउनु पर्ने । अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने र प्रदेश सरकार, स्थानीय तहलाई स्वास्थ्य सामाग्रीहरु यथाशिघ्र उपलव्ध गराउने व्यवस्था गर्नु पर्ने।
३) यस रोगको उपचार, रोकथाम र नियन्त्रणमा संलग्न हुने व्यक्तिको मनोबल उच्च बनाउन आवश्यक छ । उक्त व्यक्तिहरुको लागि (चिकित्सक, स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवक) लाई गुणस्तरीय पिपिई लगायतका सामाग्री यथाशिघ्र उपलव्ध गराउने । संक्रमणबाट बच्न अनिवार्य रुपमा माक्स, स्यानीटाईजर प्रयोग गर्नु पर्ने आवश्यकता भएको हुँदा सर्वसाधारण नागरिकहरुलाई सर्वसुलभ ढंगले उपलव्ध हुने व्यवस्था मिलाउनु पर्ने ।
४) कोरोना भाईरस (कोभिड –१९) रोगको रोकथामको लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु (९पिसिआर, पिपिई, माक्स, थरमल गन लगायत), स्वाथ्य उपकरण, औषधी र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशिघ्र गर्नु पर्ने । आईसोलेसन वेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्नुपर्ने । संक्रमित व्यक्तिसँगको कन्ट्रयाक्ट ट्रेसिंगलाई जोड दिनुपर्ने । अन्य बिरामीहरुले खानु पर्ने औषधीमा कुनै अभाव हुन नदिन जोड दिनुपर्ने ।
५) विदेशमा रहनु भएका मजदुर विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्ने र विदेशमै बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नुपर्ने ।
६) कोरोना भाईरसको कारण लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार र सरोकारवालासँग सहि तथ्यांक तयार पारी राहतको व्यवस्थापन गर्नुपर्ने ।
७) भारत र नेपालको सीमानामा अलपत्र परेका नागरिकहरुको संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी छिटो भन्दा चेकजाँच गरी आ–आफ्नो जिल्ला, घर पठाउने व्यवस्था मिलाउने ।
८) क्वारेन्टीनमा सामान्य उपचार स्वास्थ्यकर्मी, बास, कपास, र एम्बुलेन्सको राम्रो व्यवस्था गर्नु पर्ने ।
९) कोरोना भाईरसभन्दा बाहेकका बिरामीहरुलाई उपचारमा अभाव नहुने गरी व्यवस्था हुनु पर्ने ।
१०) कोरोना भाईरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७ र७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्नुपर्ने ।
वि.सं.२०७७ जेठ १ बिहीवार १९:३१ मा प्रकाशित






























