१३ जेठ, दिल्ली । प्रवासी नेपाली एकता मन्च भारतले रुकुम घटनामा ज्याउन गुमाउनेका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेको छ ।
मन्चका संयोजक लोकनाथ भण्डारी र सहसंयोजक इशरी भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी उक्त घटनामा दुःख व्यक्त गर्दै बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग जोडदार माग गरेको छ ।
‘त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी उच्चस्तरीय छानबिन समिति गठन गर्दै निष्पक्ष छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति
विषय रुकुमको जातीय हिंसाबारे
नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भईसकेको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर नेपालको संसदले २१ जेठ ०६३ मा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ ।
तर यही मिति ०७७ साल जेठ १० गते जाजरकोट सेती नगरपालिका वडा नम्बर ०४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर पश्चिम रुकुम, चौरजाहारी वडा नम्बर ०८ का मल्ल थरकी युवतीसँग प्रेम विवाहको प्रस्ताव लिएर गएका थिए । त्यसबेला केटापक्ष र केटी पक्षबिच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको पनि शव फेला परेको छ । फेला परेका शवहरू पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको कुरा सञ्चार माध्यमबाट जानकारी आएको छ ।
भेरी नदीमा घटेको यस गम्भीर घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग जोडदार माग गर्दछौँ । त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी उच्चस्तरीय छानबिन समिति गठन गर्दै निष्पक्ष छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौँ ।’
वि.सं.२०७७ जेठ १३ मंगलवार १९:५७ मा प्रकाशित




























