४ असार, मस्कट । ओमानबाट आजपनि चार्टड विमानमार्फत् १४५ जना नेपाली नेपाल फर्किएका छन् ।
नेपाली दूतावास ओमानका अनुसार संक्रमणबाट प्रभावित बनेका तथा श्वदेश फर्किनै पर्ने नेपालीहरु आज सलाम एयरको OV-427 मार्फत् दोश्रो चरणको चार्टड उडानमार्फत् १४५ जना नेपालीहरू नेपाल फर्किएका हुन् । उनीहरुमा ११० जना पुरूष र ३७ जना महिला रहेका छन् ।

उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सुनिश्चित गरिएको पनि दूतावासले जानकारी दिएको छ ।
नेपाल फर्कनका लागि एयरपोर्टमा जम्मा भएका नेपालीहरुलाई राजदूत सर्मिला पराजुली ढकालले उनीहरुको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रुहरुले नेपाल फर्कनका लागि दूतावासको भूमिकाप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा दूतावासका द्धितीय सचिव सोमेश थापा, श्रम सहचारी कृष्णा कुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी र नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट ‘कोभिड १९ व्यवस्थापन’ स्वयम्सेवीहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै अर्को चार्टर उडानबारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने छ ।
वि.सं.२०७७ असार ४ बिहीवार २०:३० मा प्रकाशित




























