८ असार, काठमाण्डौं । अध्ययन तथा विभिन्न कामका सिलसिलामा बंगलादेश पुगेका ८ सय नेपाली चार्टड उडानमार्फत् स्वदेश फर्किएका छन् ।
नेपाली दूतावास बंगलादेशका अनुसार उद्धार कार्यको पहिलो चरणमा जुन १४ मा नेपाल एयरलाईन्समार्फत् २५८ जना, जुन १७ मा हिमालय एयरलाईन्समार्फत् १५५ जना, जुन २० मा हिमालयन एयरलाईन्सबाटै १५७ जना र जुन २१ मा नेपाल एयरलाईन्समार्फत् २४५ जना गरी जम्मा ८१५ नेपाल स्वदेश फर्किएका हुन् ।
नेपाल फर्किनेमा २९० जना महिला र ५२५ पुरुष रहेको पनि दूतावासले जनाएको छ ।
यस विषम परिस्थितिमा नेपालीहरुलाई देश फर्काउने प्रक्रियामा सहयोग पुर्याउने बंगलादेशको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राहदानी तथा अध्यागमन विभाग, विश्वविद्यालय तथा सम्बन्धीत निकायलाई नेपाली दूतावास बंगलादेशले आभार व्यक्त गरेको छ ।
विश्वव्यापी नेपाली विद्यार्थी संगठन (WNSO) बंगलादेशका सल्लाहकार डा. राकेश साहले बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको उद्धारमा मुख्य भूमिका निभाएको भन्दै नेपाली दूतावास वंगलादेशका राजदूत वंशीधर मिश्र तथा दूतावास परिवारप्रति आभार व्यक्त गरेका छन् ।