४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा कामगर्न सुझाव दिएको छ । समितिले दिएको सुझावका आधारमा आइतबार (आज) परीक्षा सम्बन्धी निर्णय लिन लागिएको हो ।
समितिले ‘ओपन बुक इग्जाम’ देखि परम्परागत रुपमा लिइँदै आएजस्तै दूरी कायम गरी परीक्षा लिन सकिनेसहित चार सुझाव दिएको छ ।
पहिलो- ‘ओपन इग्जाम’ लिन सकिने विकल्प दिएको छ । केन्द्रबाट प्रश्न पठाउने र विद्यार्थीले निश्चित समयभित्र उत्तर लेखेर पठाउने ‘ओपन बुक्स इग्जाम’ हो ।
दोश्रो–दोश्रोमा आन्तरिक मूल्यांकनलाई केही भार दिने र मौखिक परीक्षा लिइने विकल्प सुझाएको छ । जुम लगायत विभिन्न माध्यम, टेलिफोन आदिबाट मौखिक परीक्षा लिन सकिने समितिको सिफारिसमा उल्लेख रहेको आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
तेश्रो-अनलाईन परीक्षा लिन सकिने छ । यसमा विद्यार्थीले अनलाइनमै बसेर तोकिएको समयभित्र उत्तर लेखेर पठाउन सक्नेछन् । थोरै विद्यार्थी र प्रविधिको प्रयोग भएका विद्यालयमा यो विधि उपयुक्त हुने समितिका एक सदस्यले बताए ।
चौथो-चौथो विकल्पका रुपमा परम्परागत रुपमा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा लिन सकिने समितिले सिफारिस गरेको छ । विद्यार्थी संख्या धेरै रहेको त्रिविमा कोभिड-१९ पछिको अवस्थामा उनीहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । त्यसैले सबैभन्दा पहिले विद्यार्थीलाई ‘ट्रेसिङ’ गरी कहाँ र कस्तो अवस्थामा छन् भन्ने पत्ता लगाउनुपर्ने समेत समितिको सुझाव छ । विद्यार्थी पत्ता लगाएपछि उनीहरुको पायक पर्ने ठाउँमा परीक्षा केन्द्र निर्धारण गरी सुरक्षा अपनाएर परम्परागत ढंगको परीषा लिन सकिने विकल्प समितिले दिएको छ ।
वि.सं.२०७७ साउन ४ आइतवार १०:२५ मा प्रकाशित






























