काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतीबारे नेताहरुलाई स्पष्टीकरण दिएका छन् । उनले माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुलाई आफ्नै निवास बोलाएर स्पष्टीकरण दिएका हुन् ।
नेकपा स्रोतले जनाएअनुसार नेताहरुसँगको छलफलमा उनले अर्का अध्यक्ष ओलीसँग कुनै सहमती नगरेको स्पष्ट पारेका छन् । जनाइएअनुसार उनले नेताहरुसँगको छलफलमा सहमतीका बारेमा अर्का अध्यक्ष ओलीले प्रस्ताव गरेपनि सहमती नभईसकेको बताएका हुन् ।
सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा मंसिरमा महाधिवेशन गर्ने सहमती भएको हल्लासँगै नेकपाभित्र ठुलो हल्लीखल्ली मच्चिएको छ । सहमतीको चर्चासँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु सशंकित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओली–दाहालको बेग्लै भेटप्रति पनि नेताहरुले प्रश्न उठाएका छन् ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति प्रचण्ड नरम रुपमा प्रस्तुत भएका थिए। साथै, मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा उनले सहमती जनाएका थिए ।
वि.सं.२०७७ साउन ४ आइतवार १३:०१ मा प्रकाशित



























