back
CTIZAN AD

ओली र दाहालबीच संवाद बन्द, महासचिवमार्फत दाहालले गरेको पहल पनि व्यर्थ

वि.सं.२०७७ साउन १६ शुक्रवार

861 

shares

काठमाडौं । आन्तरिक विवाद चुलिँदै जाँदा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भने संवाद बन्द भएको छ । विवाद चुलिँदै जाँदा बन्द भएको संवादसँगै अध्यक्षद्वयबीच तिक्तता पनि बढ्दै गएको छ ।

यसबीच पार्टी अध्यक्ष प्रचण्डले संवादको लागि गरेको पहल पनि खेर गएको कुरा खुमलटार स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार पटक–पटकका प्रयासका बीच पनि प्रधानमन्त्री ओलीसँग संवाद हुन सकेको छैन् ।

आन्तरिक विवादकै बीच गत साउन १३ मा प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठकसँगै अध्यक्षद्वयबीचको तिक्तता उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकपक्षीय रुपमा स्थगन गरेको बैठक अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए । जहाँ ओली इतरका स्थायी समिति सदस्यहरुको मात्रै उपस्थिति थियो ।

‘प्रधानमन्त्रीज्यू संवादको लागि इच्छुक देखिनुभएन’

प्रधानमन्त्री ओली पछिल्लो समय अर्का अध्यक्षसँगको संवादका लागि इच्छुक देखिएका छैनन् । उनले दोस्रो र तेस्रो तहका नेताहरुसँग मात्र छलफल गर्ने तर अर्का अध्यक्षलाई प्राथमिकता नदिने गरेका छन् ।

‘मंगलबारदेखि प्रधानमन्त्रीसँग छलफल हुन सकेको छैन्, संवादका लागि पहल नभएको होइन् तर हुन सकेको छैन्, अरु नेतासँग अध्यक्षज्यूले छलफल गरिरहनु भएकै छ तर त्यसले खास अर्थ राख्दैन्’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले भने, ‘प्रधानमन्त्रीज्यू संवादका लागि इच्छुक देखिनु भएको छैन् ।’

उनका अनुसार अध्यक्ष प्रचण्डले पार्टी महासचिव विष्णु पौडेलमार्फत संवादको लागि ओलीलाई खबर पठाएका थिए । प्रचण्डले निर्णायक छलफल गर्ने गरि आउन बिहिबार महासचिवमार्फत खबर पठाएका थिए । तर महासचिवमार्फत पठाएको खबरबारे पनि बालुवाटारले केही जवाफ नदिएको उनले जनाए ।

‘निर्णायक छलफलको तयारीमा’

एकपक्षीय रुपमा प्रचण्डले स्थायी समिति बैठक सञ्चालन गरेपछि प्रधानमन्त्री ओली निकै असन्तुष्ट छन् । त्यसपछिका दिनमा उनले शीर्ष तहका नेताहरुभन्दा दोस्रो र तेस्रो तहका नेताहरुसँग संवाद गरिहेका छन् । बालुवाटार स्रोतले जनाएअनुसार ओलीले पार्टीका असन्तुष्ट समुहसँग निर्णायक वार्ताको तयारी गरिरहेका छन् ।

‘उहाँहरु उम्लीने र पोखिने गर्नुभएको छ, अहिले सेलाउनु भएको छ’, ओली निकटका एक नेताले भने, ‘अब निर्णायक छलफल हुन्छ, कसको विषयलाई कसरी ‘सेटलमेन्ट’ गर्ने त्यसको रुपरेखा बन्छ ।’

असन्तुष्ट पूर्वमाओवादीका नेतासँग ओलीको छलफल

अध्यक्ष प्रचण्डसँग छलफल नगरेका ओलीले पूर्वमाओवादीभित्रको दोस्रो र तेस्रो तहका नेताहरुसँग भने निरन्तर संवाद गरिरहेका छन् । गत बुधबार राती पूर्वमाओवादी समुहका ७ जना स्थायी समिति सदस्यहरुलाई बालुवाटार नै बोलाएर ओलीले विशेष छलफल गरेका थिए । प्रचण्डसँग असन्तुष्ट मानिएका पूर्वमाआवादी खेमाका नेताहरुसँग उनले संवाद गरेका हुन् ।

सम्बन्धित समाचार

ओलीसँग सुटुक्क गरेको छलफल प्रचण्डले थाहा पाएपछि…

ओलीसँगको छलफलमा गत मंगलबारको बैठकमा अनुपस्थित गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा, उद्योगमन्त्रीसमेत रहेका लेखराज भट्ट, नेताहरु टोपबहादुर रायमाझी, मणी थापालगायतका उपस्थित थिए । ओलीसँग सामुहिक छलफल गरेको विषय बाहिरिएसँगै उनीहरुले बिहिबार प्रचण्डलाई भेटेर बालुवाटार भेटबारे बिफ्रिङ्ग गरेका थिए ।

स्रोतले जनाएअनुसार ओलीले आगामी रणनीति बनाउन पूर्वमाओवादीका असन्तुष्ट समुहको सुझाव लिएका थिए । पूर्वमाओवादीभित्रका असन्तुष्ट नेताहरुले ओलीको राजीनामा मागप्रति असहमती पोख्दै आएका छन् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १९:२३ मा प्रकाशित