काठमाडौं । नेकपाभित्रको शक्ति संघर्ष चरमता तिर पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निकट मानिने नेताहरु अर्का अध्यक्ष केपी शर्मा ओली नजिक देखिएका छन् । प्रचण्डको एजेण्डामा असहमत देखिएका उनीहरुले ओलीसँग सामुहिक भेटघाट गरि आगामी रणनीतिबारे छलफलसमेत गरेको कुरा खुल्न आएको छ ।
नेकपा स्रोतले जनाएअनुसार बुधबार राती पूर्वमाओवादी समुहका सात नेताहरु ओलीको डिनर छलफलमा सहभागी थिए । प्राप्त जानकारीअनुसार डिनर छलफलमा गहृमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्रीसमेत रहेका नेता लेखराख भट्ट र नेताहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल र मणि थापा सहभागि थिए ।
सामुहिक छलफलको संयोजन गृहमन्त्रीसमेत रहेका नेकपा नेता बादलले गरेको जनाइएको छ ।
ओलीलाई भेटेको सूचना पाएसँगै प्रचण्डले गरे सामुहिक भेट
बुधबार राती ओलीलाई भेटेको कुरा खुल्न आएसँगै असन्तुष्ट नेताहरुसँग प्रचण्डले पनि सामुहिक भेट गरेका छन् । प्रचण्डले बिहिबार साँझ आफ्नै निवास खुमलटारमा बोलाएर नेताहरुसँग छलफल गरेका हुन् ।
नेकपा स्रोतले जनाएअनुसार बिहिबार साँझ असन्तुष्ट मानिएका नेताहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल र मणि थापा प्रचण्डसँगको सामुहिक छलफलमा थिए । जनाइएअनुसार जनार्दन शर्माले बिहिबारको छलफलको वातावरण मिलाएका थिए । यसअघि जनार्दन शर्मा नै ओलीको गोप्य छलफलमा सहभागी भएको चर्चा चलेको थियो ।
पार्टी विभाजन हुन नदिन छलफल गरेका हौं : हरिबोल गजुरेल
नेता हरिबोल गजुरेलले बालुवाटार भेट पार्टी एकतालाई जोगाउन गरेको बताएका छन् । संसार न्यूजसँग कुराकानी गर्दै उनले पार्टीभित्रको विवाद व्यवस्थापनमा आफुँहरुले सहजीकरण गरेको प्रष्ट्याए । उनले आफुँहरुले पार्टी एकता जोगाउने गरि गरेको छलफललाई प्रधानमन्त्रीसमेत रहेका ओलीले निकै सौहार्दपूर्णं रुपमा लिएको बताएका छन् ।
संसार न्यूजसँगको कुराकानीमा उनले भने, ‘हाम्रो विषयमा विभिन्न थरी कन्फ्यूजनका विषयहरु आईरहेका छन् । हामीले पक्ष विपक्षमा भन्दा एकताको लागि पहल गरेका हौं । हामी पार्टी एकताको लागि के गर्न सक्छौं भनेर लागेका छौं । हामीले जे त्याग पनि तयार छौं ।’
उनले आफुँहरु ओली वा प्रचण्ड तिर लागेको भन्ने विषय भ्रमित पार्ने खालको मात्रै भएको बताए । ‘हामीहरु पार्टी एकताको लागि दुवै तिर लागिरहेका छौं, पहिलेदेखि नै दुवै तिर पहल गरिरहेका छौं, एकातिर गरे अर्को तिर कन्फ्युजन अर्कोतिर गरे अर्कोतिर कन्फ्यूजन यो यस्तै विषय हो’, गजुरेलले भने ।
ओलीको राजीनामा गराउने मागप्रति नेताहरुको असहमती
पार्टी विवादकै बीच गत असार १७ मा भएको झम्सीखेल भेलाले ओलीलाई दुवै पदबाट राजीनामा गराउने निर्णय गरेको थियो । भेलाको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय नेताहरु एकमत भएपनि पूर्वमाओवादी समुहका नेताहरु भने लगत्तै असहमत देखिएका थिए । तत्कालिन समयमा सहमती जनाए पनि उनीहरुले ओलीलाई दुवै पदबाट राजीनामा गराउने एजेण्डा गलत भएको बताउन थाले ।
एजेण्डामा असहमत नेताहरु पछिल्ला प्रचण्ड पक्षीय भेलाहरुमा समेत सहभागी हुन छाडेका थिए । अन्त्यन्तै महत्वका साथ हेरिएको मंगलबारको बालुवाटार बैठकमा पनि राजीनामाको एजेण्डामा असहमत रामबहादुर थापा, तोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापाको उपस्थिति थिएन ।
वि.सं.२०७७ साउन १६ शुक्रवार १४:३४ मा प्रकाशित
























