काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय परिसरमा आयोजना हुने सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम (SME/MSME) क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ।
महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय तथा नयाँ बजारको खोजीका लागि सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ। सम्मेलनले महिला उद्यमीका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्य राखेको बताएको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको सातौं बैठकले सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले महिला उद्यमशीलतासँगै बीपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको ‘ग्रीन रन’को महिला दौड पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
महिला दौड पुनः सञ्चालन हुने
गत श्रावण ६ गते भएको ग्रीन रनमा प्राविधिक कारणले महिला दौडको विजेता घोषणा गर्न नसकिएकाले भदौ ६ गते पुनः दौड सञ्चालन गरिने भएको हो। पुनः सञ्चालन हुने दौडमा यसअघि दर्ता भएका महिलाका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ।
बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गर्ने निर्णय गरेको छ। उपसमितिको सहजीकरण कांग्रेस केन्द्रीय सदस्य डा। अमिता प्रधानले गर्नेछिन्। प्रतिष्ठानको अर्को बैठक भदौको पहिलो साता बस्ने गरी स्थगित गरिएको का. वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
वि.सं.२०८३ साउन २८ बिहीवार १३:५३ मा प्रकाशित






























