काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
प्रलोपाका प्रचार विभाग प्रमुख रजमान तामाङले जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न तथा सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको गरिएको हाे।
श्रेष्ठको गिरफ्तारी तथा उनको निवास र जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीप्रति गम्भीर आपत्ति जनाइएको विज्ञप्तिमा उक्त घटनालाई सत्ता र शक्तिको दुरुपयोगको संज्ञा दिँदै सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता गर्न पनि माग गरिएको छ।
विज्ञप्तिमा सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाउनु, सरकारका गलत निर्णयको आलोचना गर्नु तथा जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार भएको जनाएको छ। आलोचनात्मक आवाज नियन्त्रण गर्ने, पत्रकारलाई पक्राउ गर्ने वा राज्यशक्तिको भय देखाएर प्रेसलाई मौन बनाउने कुनै पनि प्रयास लोकतान्त्रिक व्यवस्थाका मूल्यमान्यतामाथिको प्रहार भएको पनि विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठले पत्रकारितामार्फत उठाएका विषयसँग असहमति भए तथ्य, तर्क र सार्वजनिक बहसबाट जवाफ दिनुपर्ने भन्दै साे पार्टीले पत्रकारलाई पक्राउ गरेर प्रश्नको आवाज बन्द गर्ने प्रयास लोकतान्त्रिक सरकारका लागि स्वीकार्य हुन नसक्ने बताएको छ।
‘सरकारको आलोचना अपराध होइन, प्रेसलाई नियन्त्रण गर्ने प्रयासचाहिँ लोकतन्त्रका लागि गम्भीर खतरा हो,’ विज्ञप्तिमा भनिएको छ। आलोचना सहन नसक्ने सत्ता क्रमशः निरंकुशतातर्फ जाने खतरा रहने भन्दै पार्टीले राज्यसत्ताले आफूविरुद्ध उठेका आवाज सुन्न सक्नुपर्नेमा जोड दिएको छ।
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघ, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल तथा लोकतन्त्रप्रति प्रतिबद्ध सबै पक्षलाई एकजुट भएर आवाज उठाउन पार्टीले अपिल गरेको छ।
वि.सं.२०८३ साउन २८ बिहीवार १६:११ मा प्रकाशित






























