रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने बेपत्ता भएका नौ जनाको पहिचान खुलेको छ।
पहिरोमा परी मृत्यु हुनेमा थबाङ–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि लैजाने तयारी भइरहेको छ।
पहिरोमा बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
घटनास्थलमा प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। निरन्तर वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले उद्धारमा समेत सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
वि.सं.२०८३ साउन २८ बिहीवार ११:४५ मा प्रकाशित






























