२३ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण सिर्जना नगर्न विद्यालयहरुसँग आग्रह गरेको छ ।
सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयहरुले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको र त्यसले विद्यार्थी र अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएको भन्दै बोर्डले सूचना जारी गर्दै त्यस्ता कामहरु नगर्न आग्रह गरेको हो ।
बोर्डले कोभिड – १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुन सञ्चालनको निर्णय नगरेको जानकारी गराउँदै परीक्षा सञ्चालनसम्बन्धी कार्यहरु नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ ले कक्षा ११ को आंशिक तथ ग्रेड बृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फारम भर्नु अगाडि विद्यालयको अनुकुलतामा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार २१:३७ मा प्रकाशित






























