काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले पार्टी एकता जोगाउन भन्दै हस्ताक्षर जुटाएका छन् । नेकपाका संघीय संसदमा आवद्व ७० सांसदले हस्ताक्षर जुटाएका हुन् ।
उदयपुरका सांसद सुरेशकुमार राईले बताएअनुसार पार्टी विभाजनको विरुद्व ३ बुँदे प्रतिबद्वतामा सहमती जनाउँदै सांसदहरुले हस्ताक्षर गरेका छन् । ७० सांसदहरुको हस्ताक्षर आज नै दुवै पार्टी अध्यक्षलाई बुझाउने कार्यक्रम छ । साथै आज नै पत्रकार सम्मेलन गरी हस्ताक्षर सार्वजनिक हुनेछ ।
राईले बताएअनुसार हस्ताक्षर अभियान पार्टीभित्र तिव्र विवाद सुरु भएसँगै सुरुवात गरिएको थियो । संसार न्यूज अनलाईनसँग कुरा गर्दै उनले भने, ‘एक महिना अगाडिदेखि हामीले पार्टी फुटको विरुद्वमा जसले फुटाउँछ त्यसको विरुद्वमा अभियान चलाउने प्रतिबद्वतासहित पार्टीलाई सुद्धढ र एकताबद्ध बनाउने उद्देश्यसहित हस्ताक्षर संकलन थालेका थियौं । पार्टीलाई विधि र पद्वतिअनुसार सञ्चालन गर्न आवश्यक छ । हाम्रो अभियान त्यसैमा केन्द्रित हुनेछ ।’
सांसद राईले बताएअनुसार जारी स्थायी समिति बैठकबाटै पार्टी विवादको निकास खोज्नुपर्ने र पार्टीलाई विधि र पद्वतिअनुसार अगाडि बढाउनुपर्ने माग हस्ताक्षर अभियानमा सहभागी सांसदहरुको छ । सांसदहरुले पूर्वसमुहमा नलागी पार्टी एकताको पक्षमा पनि प्रतिवद्धता जनाएको राईले बताए ।
हस्ताक्षर अभियानमा नेकपाका सांसदहरु सुरेशकुमार राई, कृष्णप्रसाद दाहाल, यज्ञराज सुनुवार, गणेश पहाडी, झपट रावल, शान्ती पाख्रीनलगायतका सांसदहरुले नेतृत्व गरेका थिए ।
वि.सं.२०७७ साउन २५ आइतवार १२:५१ मा प्रकाशित






























