back
CTIZAN AD

देश कोरोना संकटमा, सत्तारुढ र प्रतिपक्षी दल भने आफ्नै किचलोमा मस्त

वि.सं.२०७७ भदौ २ मंगलवार

618 

shares

काठमाडौं । देश कोरोना माहामारी (कोभिड–१९)को कारण गम्भीर संकट अवस्थामा छ । साउन १ देखि लकडाउन खुलेको भएपनि कोरोना संक्रमण बढ्दै जान थालेसँगै समस्या झन् गम्भीर बन्दै गएको छ । कोरोना माहामारीले समस्या बल्झींदै गएको अवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दल भने आन्तरिक किचलोमा रुलमुलिएर मुख्य समस्या समाधानमा गैरजिम्मेवार बनेका छन् ।

देशको गम्भीर अवस्थामा न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहि अवस्थामा छ न त प्रतिपक्षी नेपाली कांग्रेस । दुवै पार्टीको अगाडि संकट देखिएको छ । आन्तरिक समस्याका कारण दुवै पार्टी अत्यन्तै भद्रगोल अवस्थाबाट गुज्रिएका छन् ।

गत असार १० देखि सुरु भएको नेकपाको स्थायी समिति बैठक आन्तरिक किचलोकै कारण अनिश्चित कालसम्मका लागि स्थगित छ । आन्तरिक किचलो बढ्दै जाँदा नेकपामा स्थायी समिति बैठक मात्रै नभई अन्य बैठकहरु पनि बस्न सक्ने स्थिति छैन् । नेकपामा स्थायी समिति बैठककै बीच बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेसँगै आन्तरिक विवाद चुलिएको हो । आन्तरिक विवाद चुलिएसँगै विवाद समाधान उन्मुख नभई विभाजन उन्मुख देखीएको हो ।

पार्टी विभाजन रोक्न केन्द्रीय समिति बैठकको माग

आन्तरिक किचलोकै कारण पार्टी विभाजन उन्मुख भएसँगै अहिले नेकपाभित्र केही समुह विभाजन रोक्ने अभियान चलाउन थालेका छन् । केहि स्थायी समिति सदस्य पार्टीभित्रका दुवै अध्यक्षलाई मिलाउन लागिपरेका छन् भने केही केन्द्रीय सदस्य केन्द्रीय समिति बैठक बेलाउन र पार्टी विवाद समाधान गर्न माग गरिरहेका छन् ।

गत साउन १४ मा नेकपाका १५२ केन्द्रीय सदस्यहरुले हस्ताक्षर नै गरेर केन्द्रीय समिति बैठकको माग गरेका थिए । उनीहरुले हस्ताक्षर गरेको पत्र दुवै अध्यक्षलाई समेत बुझाएका छन् । केन्द्रीय समिति बैठकको माग गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका केन्द्रीय सदस्य धेरै छन् ।

केन्द्रीय समिति बैठकको माग गर्ने केन्द्रीय सदस्यहरुमा ठाकुरप्रसाद गैरे, नारायण शर्मा, रामचन्द्र झा, उर्मिला अर्याल, झपटबहादुर रावल, रामदीप आचार्य, प्रकाश ज्वाला, विरोध खतिवडा, शालीकराम जमरकट्टेल, विमला सुवेदी, जयपुरी घर्ती,, सत्य पहाडी, रामकुमारी झाँर्की, सोमप्रसाद पाण्डेय, रामप्रसाद सापकोटा, ‘दीपशिखा’लगायत छन् ।

विभाजनकारी पक्षको पछि नलाग्ने भन्दै ६१ सांसदकाे हस्ताक्षर

विभाजनकारी पक्षको पछि नलाग्ने भन्दै नेकपाकै ६१ सांसदहरुले हस्ताक्षरसमेत गरेका छन् । गत साउन २५ मा नेकपाका ६१ सांसदले पार्टी विभाजनविरुद्व हस्ताक्षर नै गरेर प्रतिबद्धता जनाएका थिए । उनीहरुले पार्टी विभाजन गराउन अभियान चलाउने कुनै पनि पक्षमा नलाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

पार्टी विभाजनविरुद्व प्रतिबद्धता जनाउने सांसदहरुमा ओली र प्रचण्डपक्षीय सांसदहरु नै धेरै छन् । जसमा केहि नेपाल पक्षीय सांसदहरु पनि सहभागी छन् । सांसदहरुको दबाब संगै नेताहरु टास्क फोर्स बनाएर अवरुद्धता खोल्ने प्रयासमा छन ।

कांग्रेसमा देउवाको मनमौजीले निम्त्यायो किचलो

प्रतिपक्षी नेपाली कांग्रेसभित्र २०७७ फागुनभित्रै महाधिवेशन गर्ने विषय छलफलमा छ । तर, यसबीच पार्टी सभापति शेरबहादुर देउवाले मनमौजी रुपमा विभागहरुको गठन र पदाधिकारी मनोनित गर्न थालेपछि किचलोले उग्रता लिएको छ । देउवाले गत साउन २५ मा विभिन्न १२ विभागमा ४५७ जनालाई मनोनित गरेका थिए ।

महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु महाधिवेशनको मुखमा देउवाले गठन गरेका हुन् । एकपक्षीय रुपमा गठन गरिएको विभागप्रति पार्टीभित्रको ठूलो समुहमा तिव्र असन्तुष्टी छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै विरोध गरिरहेका छन् भने अन्य शीर्ष नेताहरु पनि देउवाको विरोधमा देखिएका छन् ।

१२ केन्द्रीय सदस्यद्वारा नेतृत्व लिन तयार रहेको उद्घोष

यसबीच कांग्रेसका १२ केन्द्रीय समिति सदस्यहरुले विज्ञप्ती नै निकाल्दै देउवाको शैली चुपचाप नसहने चेतावनी दिएका छन । डा. चन्द्र भण्डारी, धनराज गुरुङ्ग, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादवले देउवाको शैलीप्रति असन्तुष्टी पोख्दै विज्ञप्ती सार्वजनिक गरेका छन् । जारी विज्ञप्तीमा आफुँहरु पार्टीको नेतृत्व लिन तयार रहेको कुरा स्पष्ट पारिएको छ ।

यसैबिच जनता समाजबादी पार्टीको हालै सम्पन्न बैठकले कार्यबिभाजन गर्न सकेको छैन । चौथो बरयितामा बसेका पुर्ब प्धानमन्त्री बाबुराम भटराइलाइ समेत ठोस काम नमिलेको बताइएको छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १३:५१ मा प्रकाशित