काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणको लागि लागु गरिएको निषेधाज्ञाको बीच पनि ऐतिहासिक महत्वको काष्ठमण्डपको पुनर्निर्माण जारी छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निषेधाज्ञाको बीच भुँई तल्लाको काम सकेर गारो उठाउने काम भईरहेको छ ।
शाक्यले जनाएअनुसार हाल ३५ मजदुर तथा कर्मचारीहरु पुर्ननिर्माणको काममा खटिएका छन् । हाल निर्माण स्थलमा स्वास्थ्यका न्यूनतम मापदण्डलाई परिपालन गर्दै काम गरिएको उनले जनाए ।
यसअघि लकडाउनका बेला गत चैत र वैशाखमा पुर्ननिर्माणको काम रोकिएको थियो ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप विसं २०७२ मा आएको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको शुरुआत २०७५ साल कात्तिक २२ गतेदेखि सुरु भएको हो ।
१९ करोड ८८ लाखका लागतमा पुनर्निमाण
काष्ठमण्डपको पुनर्निमाणको काम काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको अगुवाईमा भईरहेको छ । पुनःनिर्माणका लागि रु १९ करोड ८८ लाख लाख खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ ।
निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म पुनर्निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । अध्यक्ष शाक्यले जनाएअनुसार साढे दुई वर्षदेखि सुरु भएको पुनर्निमाणको काम झण्डै ७० प्रतिशत सम्पन्न भईसकेको छ ।
सिमेन्ट र आधुनिक औजारको प्रयोग नगरी पुनर्निमाण
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार ऐतिहासिक सम्पदा काष्ठमण्डको पुनर्निर्माण सिमेन्ट र आधुनिक औजारको प्रयोग नगरी गरिएको छ । शाक्यले जनाएअनुसार पुननिर्माणमा पौराणिककालिन शैली अपनाइएको छ ।
पुननिर्माणमा काठमाडौंकै माटोको प्रयोग गरिएको छ । माटोभन्दा सिमेन्टको आयु कम हुने भन्दै कहिँ पनि सिमेन्टलाई प्रयोग गरिएको छैन् । शाक्यले जनाएअनुसार पुननिर्माणको लागि धरहरा, बाफललगायतका क्षेत्रबाट माटो परिक्षण गरेर ल्याइएको छ ।
वि.सं.२०७७ भदौ २३ मंगलवार १४:०९ मा प्रकाशित






























