काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादमा रहँदै आएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे सहमतीको प्रस्ताव तयार गरेका छन् । शुक्रबार बोलाइएको स्थायी समिति बैठकमा पेस गर्ने गरि दुई अध्यक्षले एमसीसी अनुमोदन बारे सहमतीको प्रस्ताव तयार गरेका हुन् ।
दुई अध्यक्षले स्थायी समिति बैठकमा छलफल गर्न तयार गरेको प्रस्तावमा सम्झौतालाई संशोधन गरेर अनुमोदन गर्न सकिने उल्लेख छ । ‘सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट गर्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने’ प्रस्तावमा भनिएको छ ।

स्थायी समिति र सचिवालयमा छलफल हुने
दुई अध्यक्षबीच भएको सहमतीमा एमसीसी सम्झौता अनुमोदन पूर्व सम्झौताबारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमाथि केन्द्रित रहेर सम्झौताबारे स्थायी कमिटी र सचिवालयमा छलफल गरिने उल्लेख छ । स्थायी कमिटी र सचिवालयमा छलफलपश्चात मात्रै एमसीसी सम्झौता अनुमोदन प्रक्रियामा जानेछ ।
नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा भएको सम्झौता हाल संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।
सम्झौता अनुमोदनप्रति मुख्यतः सत्तारुढ नेकपाभित्र नै तिव्र असहमती छ । सम्झौताकै कारण नेकपाभित्र लामो समयदेखि विवादसमेत रहँदै आएको छ ।
वि.सं.२०७७ भदौ २५ बिहीवार १२:२५ मा प्रकाशित






























