काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन बिदा दिने व्यवस्था बनाउन अध्ययन सुरु गरेको छ । मन्त्रालयले कार्यदल गठन गर्दै बिदाबारेको नयाँ व्यवस्था गर्न लागेको हो ।
मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले सातामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको छ ।
बिहिबारको बैठकले पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्यको रुपमा छन् ।
अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गरिने जनाइएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयको भनाई । कार्यदलले प्रस्ताव तयार गरेसँगै मन्त्री भट्टराईले प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गर्नेछन् ।
वि.सं.२०७७ असोज ८ बिहीवार १५:५२ मा प्रकाशित






























