१९ असोज, काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले डा गोविन्द केसीको जीवनमा खेलवाड नगर्न भन्दै सरकारलाई चेतावनी दिएको छ ।
२२ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्यस्थिति नाजुक रहेको उपचारमा संलग्न चिकित्सकको भनाई रहेकोले उनको जीवन रक्षा गर्न खबरदारी गर्दै मोर्चाले उक्त चेतावनी दिएको हो ।
मार्चाका अध्यक्ष सी.पी. गजुरेलद्वारी प्रेस विज्ञप्तिमा अनसनरत डा केसीको माग पुरा गर्न र उनको जीवन रक्षा गर्न माग गरिएको छ ।
‘विगतका अनसनका दौरान वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्ने मागहरु भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरु पूरा गरी उहाँको जीवन रक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
डा गोविन्द केसी नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध गर्दै पटकपटक अनसन बसेका छन् । १९ औं पटकको अनसन आज २२ औं दिनमा प्रवेश गरेको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १७:२८ मा प्रकाशित






























