काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको नेकपा स्रोतले जनाएको छ । जनाइएअनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक नियुक्तीलगायतका विषयमा छलफल हुने कार्यसूची तय भएको नेकपा स्रोतले जनायो ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीसँग सल्लाह नगरी राजदूतहरु नियुक्ती गरेसँगै नेकपाभित्र विवाद बढेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्तीप्रति तिव्र असन्तुष्टी जनाएका थिए ।
एकपक्षीय रुपमा राजदूत नियुक्ती गरेसँगै प्रचण्डले सचिवालय बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीका सल्लाहकार तथा ठूलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएसँगै बैठक स्थगित भएको थियो । शनिबार र आइतबार बोलाइएको बैठक कोरोनाकै कारण स्थगित भएको थियो ।
वि.सं.२०७७ असोज २० मंगलवार १२:२० मा प्रकाशित





























