२४ असोज, काठमाडौं। सर्लाही जिल्लामा नागरिकता लिनेको चाप बढेकाले टोकन प्रणालीको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्र्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेकोले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा नागरिकताको काम शुरु गरका छन्।
कोरोना महामारीको जोखिम कायमनै रहेको अवस्थामा स्वास्थ्य मापदण्ड लाई मध्यनजर गर्दै भीडभाड कम गराउन भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताए । उनका अनुसार इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको शुरु गरिएको छ ।
देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको सर्लाहीमा नागरिकताबाहेक अन्य सेवा पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बर्ताए । हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाले नागरिकलाई पूरै सेवा प्रवाह गर्दै आएका छन् ।
वि.सं.२०७७ असोज २४ शनिवार १५:४८ मा प्रकाशित





























