१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तरगत रहेर शान्ति स्थापका लागि सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटिन जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् ।
बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त मिशनका कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विधाई गरेका थिए । मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिएका थिए ।
संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’ मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
मिसनका लागि जानेमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिईएको छ । उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।
वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १६:१६ मा प्रकाशित






























