२० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन्।
भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष कार्यक्रमबीच सेना प्रमुख नरवणेलाई मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्।

सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद पत्र पनि प्रदान गरिएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु समेत सरिक थिए ।
नेपाली सेना र भारतीय सेनाले एकअर्काका प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने चलन छ। विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहि आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्षपहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाएका थिए।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरुसमेत उपस्थित रहेका थिए।
कार्यक्रम पछि जनरल नरवणेले नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन्। उक्त भेटघाटमा राजदूत क्वात्राको पनि उपस्थिति थियो ।
राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउबारे समेत छलफल गरेका थिए।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका छन् ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार १८:३८ मा प्रकाशित



























